स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

विद्यालय भवन बनेपछि पठनपाठन सहज

सेयर गर्नुहोस

१९ मङ्सिर  : तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शङ्कर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ ।

पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत रु ७१ लाख ६१ हजार २६ को लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

गत वर्षको मङ्सिरबाट निर्माण शुरु भएको भवन यही कात्तिकमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । नयाँ भवन निर्माणपछि पठनपाठनमा सहज हुने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । “पुरानो भवन जीर्ण हुँदा हावाहुरी र पानी आएको बेला पठनपाठनमा समस्या हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहज हुने भएको छ ।”

प्रधानाध्यापक श्रेष्ठका अनुसार चारकोठे भवन निर्माण भए पनि विद्यालयलाई अझै पनि थप भवनको आवश्यकता छ । “हाल भइरहेको भवन जीर्ण अवस्थामा छ, सुरक्षित छैनन्”, उहाँले भन्नुभयो, “थप भवनका लागि प्राधिकरणमा माग गरेका छौँ ।” विद्यालयमा हाल २७६ विद्यार्थी अध्ययनरत छन् । ४१ वर्षपछि पक्की भवन स्थापनाको ४१ वर्षपछि तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको छ ।

विसं २०३५ मा स्थापना भएको विद्यालय हालसम्म कच्ची र टहरामा सञ्चालन हँुदै आएकामा राष्ट्रिय पुनःनिर्माण प्र्राधिकरणमार्फत विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको हो । स्थापनाको चार दशकपछि रु ६७ लाखको बजेटमा विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि गत वर्ष जिल्ला आयोजना कार्यान्वयन एकाइले (शिक्षा) बजेट विनियोजन गरेको थियो । बाह्र कक्षासम्म अध्ययन हुने उक्त विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन् । नयाँ पक्की भवन निर्माणसँगै पठनपाठनमा सहज हुने प्रधानाध्यापक उपाध्यायले बताउनुभयो । “कच्ची भवनमा वर्षायाममा अध्यापन गराउन निकै अप्ठ्यारो परिस्थिति थियो”, उहाँले भन्नुभयो, “अब भने सहज हुने भयो ।”

प्रधानाध्यापक उपाध्यायका अनुसार कच्ची भवनमा पानी चुहिने, टिनमा परेको पानीको आवाजले समस्या हुने तथा गर्मी मौसममा टिन तातेर दिउँसो बस्नै नसकिने जस्तो समस्या रहँदै आएको थियो । लामो समयको प्रयासपछि पक्की भवन निर्माण गर्न सकिए पनि विद्यालयलाई थप भवन आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो ।

“अझै पनि विद्यालयलाई अर्को भवन आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सम्बन्धित निकायमा बजेट माग गर्ने तयारी गरेका छाँै ।” यसैबीच तनहुँ क्षेत्र नं १ का विभिन्न विद्यालय भवन निर्माणका लागि चालू आव २०७६÷७७ का लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट विनियोजन गरेको छ । भूकम्पबाट क्षति पुगेका ४१ विद्यालय भवन पुनःनिर्माणका लागि प्राधिकरणले बजेट विनियोजन गरेको हो ।

चारकोठे भवनका लागि बढीमा रु ६८ लाख, तीनकोठे भवनका लागि रु ३१ लाख र दुईकोठे भवनका लागि रु २३ लाखका दरले बजेट विनियोजन भएको छ । चारकोठे भवनअन्तर्गत २६, तीनकोठे भवनअन्तर्गत दुई र दुईकोठे भवनअन्तर्गत १३ विद्यालयलाई बजेट विनियोजन भएको बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -