स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

गाउँभरि मौरीपालन

honey, bee
सेयर गर्नुहोस

 १८ मङ्सिर : गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ ।

एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् ।

स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् । “मौरीपालन यहाँको पुरानै पेशा हो, गाउँभरिमा ५० भन्दा बढी मौरी घार छन्”, गौतमले भन्नुभयो । परम्परागत मुढे घार छाडेर किसानले आधुनिक घारमा मौरीपालन गरेका छन् । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुन्छ । मौरीपालनमा किसानको आकर्षण देखेर गलकोट नगरपालिकाले गत आवमा अनुदानमा आधुनिक घार उपलब्ध गराएको थियो । अनुदान, तालीम पाएमा मौरीपालन थप विस्तार गर्न सकिने किसान बताउँछन् । बरेखानी मौरीपालनका लागि उत्तम भूगोल र हावापानी भएको गाउँ हो । वर्षको दुई याममा मह तयार हुने किसान पुनाराम गौतमको भनाइ छ ।

उहाँका अनुसार असोज–मङ्सिर र चैत–जेठमा मह काढ्ने बेला हुन्छ । उत्पादन गर्न सके महलाई बजारको खाँचो छैन । हटिया, हरिचौरलगायत बजार क्षेत्रबाट बढी माग आउँछ । विदेशमा समेत कोसेलीका रूपमा बरेखानीको मह पुग्ने गरेको छ । “कुनै मिसावट नभएको शुद्ध र स्वादिष्ट मह बेच्छौँ”, पुनारामले भन्नुभयो । मौरीपालन थप विस्तार गर्ने उहाँको योजना छ ।

‘तरकारी गाउँ’ ले चिनिने बरेखानीलाई मौरीपालनले अर्को चिनारी दिएको छ । गाउँका किसानको मुख्य पेशा तरकारी खेती हो । झण्डै ५० रोपनीमा व्यावसायिक तरकारी खेती छ । बरेखानीमा रहेका आठ घरधुरीमा स्थायी बसोबास गर्नेको सङ्ख्या त्यस्तै २२÷२४ छ । जनसङ्ख्या र भूगोलले सानो भए पनि बरेखानी उत्पादनका हिसाबले अगाडि छ । त्यहाँका किसानले २५ वर्षअघि देखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । प्रत्येक घरले वार्षिक पाँच÷सात लाख रुपैयाँ तरकारी बेचेरै कमाउँछन् ।

किसानले पशुपालनलाई पनि अँगालेका छन् । कमाइको स्रोत भैँसीको दूध पनि हो । युवापुस्ता शहरी क्षेत्र र विदेश लागेपछि पाका किसानले गाउँको कृषि धानेका छन् । अधिकांश घरमा श्रीमान्÷श्रीमतीमात्र छन् । शरीर र स्वास्थ्यले साथ दिउञ्जेल कृषिमै रमाउने किसानको सोच छ ।

कठिन भूगोलका कारण कृषि उपजको बजारीकरणमा भने किसानले समस्या झेल्दै आएका छन् । गाउँदेखि दुई किलोमिटर तलसम्म सडक पुगे पनि त्यो नियमित चल्दैन ।

दैनिक डेढ घण्टा तरकारी बोकेर मध्यपहाडी लोकमार्गसम्म पु¥याउनुपर्ने बाध्यता छ । गाउँको मुख्य समस्या सडक नै रहेको स्थानीयवासी चन्द्रमणि गौतमले बताउनुभयो । “यातायातको सुविधा नहुँदा कृषि उपज बजार लैजान समस्या छ”, उहाँले भन्नुभयो । नगरपालिकाले बरेखानी जोड्ने सडकका लागि चालु आवमा रु चार लाख ५० हजार बजेट छुट्याएको छ । उक्त बजेट मर्मतमै ठिक्क हुने स्थानीयवासी बताउँछन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -