स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

कार्यसम्पादन सम्झौताअनुसार काम गर्न मन्त्री पुनको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन - The Times of nepal
सेयर गर्नुहोस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उहाँले आफू र मातहतका निकायले गरेको कार्यसम्पादन सम्झौताअनुसार काम गर्न आग्रह गर्दै यदि कुनै कठिनाइ भए जिम्मेवारीबाट हट्न आग्रह गर्नुभएको छ ।

मन्त्री पुनले भन्नुभयो, “मैले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यहीअनुसार काम गर्छु, सचिवज्यूले मसँग सम्झौता गर्नुभएको छ । यस्तै सचिवसँग सहसचिव र अन्य अधिकारीले सम्झौता गर्नुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्याङ्कन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारीबारे पनि सोचौँ ।”

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यहीअनुसार काम गर्न पनि निर्देशन दिनुभएको उहाँका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले जानकारी दिनुभयो । मन्त्री पुनले थप कडाइका साथ भन्नुभयो, “प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन्, यस्तै हो चलिरहन्छ भन्ने कुराजस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन, यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।”

उहाँले नीति तथा कार्यक्रम र बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्नसमेत आग्रह गर्नुभयो । राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न र कार्यस्थलमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनको निर्देशन थियो । अन्तरमन्त्रालय र अरु निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैँले गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
समीक्षा बैठकमा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी कम्पनीका प्रमुखले प्रस्तुतीकरण गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -