स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

भरतपुर विमानस्थल १० दिनका लागि बन्द

air, aeroplane - The Times Of Nepal - ton
सेयर गर्नुहोस

भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो । “आजदेखि १० दिन बन्द गरेर करीब एक हजार २०० मिटरको धावनमार्गमा मर्मतसम्भार गर्दैछौँ”, विमानस्थल प्रमुख गौतमले भन्नुभयो, “पार्किङ पनि सुविधायुक्त बनाउँछौँ”, विमानस्थलको धावनमार्ग ठाउँ–ठाउँमा भत्किएको र कतैकतै उप्किएकाले मर्मतसम्भार गर्न लागिएको गौतमले बताउनुभयो ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनुभयो । विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ । रातिको समयमा चिसो मौसम भएकाले काम गर्न नसक्ने तथा दिउँसोमा विमानका कारणले काम गर्न असहज भएकाले बन्द गरेरै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ । हालको ७०÷७० मिटर रहेको पार्किङलाई बढाएर ९०÷८० को बनाइनेछ ।

अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेटस्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्गमा रहेको कालोपत्रेमा थप गर्ने र पार्किङ क्षेत्र विस्तारका लागि रु चार करोड ४२ लाख ४७ हजार ७८८ लागत अनुमान गरिएको छ । बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । हाल भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक आठ तथा बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएका छन् ।

विमानस्थलबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् । भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन सक्नेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयस्तरको कार्यदल गठन गरेर विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -