स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

भ्रमण वर्ष सफल बनाउन आतिथ्य महत्वपूर्ण हुन्छ : पर्यटनमन्त्री

सेयर गर्नुहोस

 १२ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न आतिथ्य महत्वपूर्ण हुने बताउनुभएको छ ।

विश्वभरका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक प्रतिष्ठानको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कूल एशोसिएशन (इयूहोफा)को काठमाडौँमा जारी सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपाल भ्रमण वर्षको अवधिमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बताउन आतिथ्यमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री भट्टराईले नेपालको प्राथमिकता प्राप्त पर्यटन उद्योग वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मानिदै आएको बताउनुभयो ।

पर्यटन उद्योगमा नीतिगत सुधार गरी यसबाट प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । यसैबीच इयूहोफाको अध्यक्षमा नेपालको ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत खेम लकाइँ चयन हुनुभएको छ ।

उहाँ सन् २०१७ देखि उक्त संस्थाको बोर्ड सदस्य हुनुहुन्थ्यो । इयूहोफाका नवनिर्वाचित अध्यक्ष खेम लकाइँले नेपाल अतिथिलाई भगवानका रूपमा हेर्ने मुलुक भएको भन्दै यहाँको आतिथ्य सत्कार विश्वभरि नै उदाहरणीय मानिएको बताउनुभयो ।

इयूहोफाको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एशिया, अफ्रिका र अष्ट्रेलियासम्मका आतिथ्य व्यवस्थापन अध्यापन गरिने शैक्षिक प्रतिष्ठान सदस्य आवद्ध छन् ।

सञ्जालमा नेपालबाट १४ होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठान सदस्य छन् । काठमाडौँमा जारी ५८औँ कँग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्यसम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापक, पर्यटन उद्योगका नेतृत्वकर्ता र यस क्षेत्रका विभिन्न विज्ञको सहभागिता छ ।

नेपालले आयोजना गरेको यो अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यता एशियामा नै पहिलोपटक भएको बताइएको छ । अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि अतिथि सत्कार परिवेशअनुरूप विश्व बजारमा देखाउने दरिलो अवसर भएको आयोजकले जनाएको छ । बुधबार शुरु भएको सम्मेलन मङ्सिर १५ गतेसम्म चल्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -