स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

नेपाल भ्रमण वर्ष : पर्यटक सवारी चालकलाई प्रशिक्षण

सेयर गर्नुहोस

११ मङ्सिर : नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण दिइएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोग तथा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपको आयोजनामा आज पर्यटक सवारी चालक भाडाका सवारी चालक तथा रिक्सा चालकलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले पर्यटक सवारी चालकले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले चालकलाई प्रशिक्षण दिएको बताउनुभयो । पर्यटक सवारी चालकको राम्रो व्यवहारले पर्यटकको सङ्ख्यामा वृद्धि हुने उहाँको भनाइ थियो ।

“सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, पर्यटक सवारी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा सोचेभन्दा धेरै पर्यटक आउन सक्छन्”, उहाँले भन्नुभयो । पर्यटकमैत्री चालक निर्माणका लागि प्रशिक्षण दिइएको उहाँको भनाइ थियो ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रहरी नायब निरीक्षक दिनेश थापाले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको पहिलो साक्षात्कार पर्यटक सवारी चालकसँग हुने भएकाले चालक सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

सरकारले तोकेको मापदण्डविपरीत चल्ने पर्यटक सवारी साधनलाई कारवाही गरिने उहाँको भनाइ थियो । स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी एकाइले देशभरका २७ स्थानबाट पर्यटकलाई सुरक्षा र सेवा प्रदान गर्दै आइरहेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन पर्यटन लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -