स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

लाखौँको कारोवार हुने नेपाल – भारत सीमा नाका सुनसान

Nepal and India - The Times Of Nepal
सेयर गर्नुहोस

फिक्कल, ६ मङ्सिर : दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो ।

गत असार, साउनयता पर्यटक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ । भारतबाट आउने पर्यटकलाई रु २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले रकम जफत गर्न थालेपछि पशुपतिनगर घुम्न आउने भारतीय पर्यटक आउन छाडेको पूर्व संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बताउनुभयो । स्थानीय तथा पशुपतिनगर उद्योग वाणिज्य सङ्घकी पूर्वअध्यक्षसमेत रहनुभएकी उहाँले भारतबाट नेपाल आउने पर्यटकको पैसा चोरी भएपछि भारतीय पक्षबाट कडाइ गर्दा यस्तो समस्या आएको बताउनुभयो ।

दशैँ, तिहारजस्ता चाडपर्वका समयमा भीडभाड हुने बजारमा यसपटक खासै मान्छे नआएको व्यापारीको भनाइ छ । दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरीद गर्न आउने मानिसको सङ्ख्या ह्वात्तै घटेपछि व्यापारी मारमा परेका छन् । वाणिज्य सङ्घकी पूर्वअध्यक्ष श्रेष्ठले नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शरीर खानतलासी गरेर रकम जफत गर्न थालेपछि नेपाल आउने पर्यटक घटेको बताउनुभयो । दार्जिलिङबाट नेपाल आउने सयौँ भारतीय पर्यटक पशुपतिनगर आएर कपडा, जुत्ता कस्मेटिक सामग्री खरीद गर्ने भएकाले यहाँबाट लाखौँको कारोवार हुने गरेको थियो । क्रमशः भारतीय पर्यटकको आगमन घट्दै गएको छ । पहिले डिडभाड हुने बजार विस्तारै खुम्चिँदै जानुमा भारतीय पक्ष नै दोषी रहेकाले सम्बन्धित निकायले पहल गर्नुपर्ने व्यापारीहरुको माग छ । भारतीय पक्षको खानतलासीले पूर्वी पहाडबाट दार्जिलिङतिर जाने आफन्त, दैनिक बिरामी लिएर जाने गाडी तथा उपचारका लागि जाने बिरामीका परिवार पनि मारमा परेका छन् ।

उपचारका लागि ठूलो खर्च लाग्छ । उपचारमा जाँदा रु २५ हजारमाथि नै रकम बोक्नुपर्ने तर भारतीय पक्षका कारण समस्या हुने गरेको पीडितहरुको भनाइ छ । बिरामीको उपचारका लागि लगिएको पैसा नै सिमाना काटेर लैजान नपाइने भएपछि समस्या भएको उनीहरु बताउँछन् । पूर्वी पहाडी जिल्लाबाट पशुपतिनगर नाका हुँदै भारतका दार्जिलिङ, सिलगुडी जान सजिलो हुने गरेको छ । नेपालतर्फ केही समय अगाडि अध्यागमन केन्द्र स्थापना भएको भएपनि भारततर्फबाट अध्यागमन केन्द्र नखोलिँदा झनै सङ्कट परेको स्थानीयवासीको भनाइ छ ।

भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटानसम्मका व्यापारीको कारोवार हुने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात–निर्यातको कारोवार नगर्दा व्यापारीको कारोवार पनि ठप्प छ । भारतीय पक्षले भन्सारको कारोवार नगर्दा नेपालका उत्पादन वैधानिकरूपमा भारततर्फ निकासी हुन सकेको छैन । सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईका अनुसार गएका वर्षहरुमा पशुपतिगनर बजारमा दशैँ, तिहारजस्ता चाडपर्वका समयमा दैनिक रु ५० लाखमाथिको कारोवार हुने गरेको थियो । यस वर्ष दैनिक एक लाखमाथिको कारोवार नभएको उहाँले बताउनुभयो ।

विसं २०३६ मा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण हुने गरेका थिए तर यस प्रकारको कार्यले बजार प्रायः शून्य हुन थालेको छ । चीनबाट सोझै सामानहरु भारतका विभिन्न शहरमा जाने गरेकाले पनि पशुपतिनगरको व्यापार घट्न थालेको अध्यक्ष राईको भनाइ छ । चीनले नुथला सीमा नाका हुँदै भारततर्फ आफ्ना उत्पादन निर्यात गर्न थालेपछि पशुपतिनगर बजार सुक्दै गएको हो । पशुपतिनगरमा व्यापार गर्ने ७०० व्यापारीमध्ये अहिले ३५० हाराहारीमा मात्र छन् । व्यापार सुक्दै जाँदा अधिकांश व्यापारी विस्थापित भई भारतको सिलगुडी, नेपालको काठमाडौँ, विराटनगर, विर्तामोडलगायतका शहरमा जाने गरेका छन् ।

बाहिर जाने व्यापारी रोक्नका लागि सरकारले कुनै काम नगर्ने हो भने झनै समस्या आउने भन्दै स्थानीयवासी चिन्तित छन् । इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन, प्लान्ट क्वारेइन्टाइनलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको स्थानीय व्यापारीहरुको माग छ ।

स्थापना भएको अध्यागमन केन्द्रको कुनै काम नभएको भन्दै भारततर्फ पनि अध्यागमन कार्यालय सञ्चालन गरेर काम अगाडि बढाउन कूटनीतिक छलफल गरिनुपर्ने व्यापारीको भनाइ छ । भारततर्फ अध्यागमन केन्द्र नहुँदा नेपालको मात्र अध्यागमन केन्द्रले केही गर्न नसक्ने कर्मचारी बताउँछन्् । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर यहाँका विस्थापित हुने व्यापरीलाई रोक्न र सुक्दै गएको बजारलाई जगाउन विशेष पहल गर्न आवश्यक रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -