स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

सात वटा तला र करीब १५० वटा कोठाको चराङ गुफा पर्यटकको पखाईमा

सेयर गर्नुहोस

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो । संरक्षण, प्रचारप्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ ।

“सात वटा तला र करीब १५० वटा कोठा छन्” वडाध्यक्ष ठकुरीले भन्नुभयो,“पहाड खोपेर बनाएको यो गुफा उपल्लो मुस्ताङको मानव सभ्यतासँग जोडिएको छ ।” गुफाभित्र कुनै समय पूरै गाउँ भएको जस्तो देखिन्छ । पहाडभित्र तला तला र कोठा–कोठा छन् । छिर्ने र निस्कने एउटै प्रवेशद्वार भए पनि भित्र फरक–फरक कोठा छन् । ती कोठामा सुत्ने, ध्यान बस्ने, गुम्बा, शौचालय, बैठक, घाम ताप्ने ठाउँ छन् । अन्न भण्डारण गरेर राख्ने ठाउँ पनि छ । स्थानीयवासीका अनुसार परापूर्वकालमा तिब्बतियन समूहको आक्रमणबाट बच्न स्थानीयवासी गुफामा लुकेर बसेका थिए । गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा स–साना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि भेटिन्छ ।

गुफाभित्र पुग्दा अर्कै संसारको अनुभूति हुन्छ । तिब्बत्सँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको छोसेरमा पनि यस्तै प्रकृतिको झोङ गुफा छ । लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा विभिन्न कलाकृति र सामग्री छन् । झट्ट हेर्दा प्राचीनकालको तारे होटलजस्तो देखिने गुफाको ऐतिहासिक महत्व र सम्भावना रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताउनुभयो । चराङ गुफा, दरबार र गुम्बालाई संरक्षण र प्रचारप्रसार गरी पर्यटकीयस्थलको रुपमा विकास गराउन पहल थालिएको उहाँले बताउनुभयो । सोही गाउँपालिकाको मराङमा रहेको गुम्बा नेपालकै पुरानो मानिन्छ । चराङ गुफामा पर्यटक भित्र्याउन स्थानीयवासी र गाउँपालिकाले पूर्वाधार र प्रचारप्रसारमा जोड दिएका छन् ।

गत वर्ष गाउँ संरक्षण व्यवस्थापन समितिले चराङ गाउँदेखि गुफातर्फ जाने एक सय मिटर भन्दा बढी पदमार्ग बनाएको छ । यसवर्ष पनि गुफाको पर्यटन विकासका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडकको चराङ खण्डदेखि बीस मिनेट पैदल हिँडेपछि चराङ गुफामा पुग्न सकिन्छ । जोमसोम–कोरला सडकमा दैनिक सयांै गाडीमा पर्यटक आवतजावत गरे पनि चराङ गुफा सुनसान छ । संरक्षण व्यवस्थापन समिति चराङका अध्यक्ष माया विष्टले गुफा, गुम्बा र ऐतिहासिक दरबारलाई समेटेर चराङमा पर्यटक भित्र्याउन सकिने बताउनुभयो । सडक विस्तारसँगै ओझेलमा परेको चराङको पर्यटन विकासका लागि प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा जोड दिएको उहाँले बताउनुभयो । –––

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -