स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं ५ मा नेपाल भ्रमण वर्ष प्रभावकारी बनाउने तयारी

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

२९ कात्तिक : सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी र उत्साहजनक रुपले सफल बनाउन प्रदेश नं ५ मा व्यापक तयारी भइरहेको छ ।

भ्रमण वर्षलाई राष्ट्रिय उत्सवका रुपमा सफल बनाउने सरकारको सङ्कल्प पूरा गर्न प्रदेश नं ५ मा स्थानीय तहसम्म कार्यक्रम बनाएर अगाडि बढाइएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल राष्ट्रिय सङ्कल्पलाई सार्थक बनाउन भ्रमण वर्ष सहयोगी र सार्थक अभियान बन्ने अपेक्षाअनुरुप प्रदेशमा यसलाई भव्य बनाउन सबै तह एवं निकायलाई परिचालन गरिने भएको छ ।

भ्रमण वर्षमा देशमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । भ्रमण वर्षमा प्रदेश नं ५ सरकारले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि अभियानन सञ्चालन गर्ने योजना बनाइएको नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक पर्यटन व्यवसायी माधव नेपाल बताउनुहुन्छ ।

भ्रमण वर्षका लागि प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम प्रस्ताव गरेको छ । उक्त कार्यक्रम बिहीबार बुटवलमा आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सचिव डा राधा वाग्लेले प्रस्तुत गर्नुभयो । प्रदेशका १२ वटै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप कार्यक्रम प्रस्ताव गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटकीय गन्तव्यमा दिगोपन र दूरगामी सोचेर संरचना निर्माण गर्दा पर्यटन प्रवद्र्धन हुने भएकाले त्यसतर्फ सोच्न सबैलाई आग्रह गर्नुभयो । उहाँले पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षित गर्ने संरचना, जनशक्ति र सन्दर्भ सामग्रीको अभाव देखिने गरेकाले पर्यटन प्रवद्र्धनका कार्यक्रम यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले सबै ऐतिहासिक क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसक्ने तर यस्ता सम्पदाको पूर्वाधार विकासभन्दा संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले समुदायमा रहेका विविधतायुक्त संस्कृतिलाई पर्यटनमैत्री योजना बनाएर पर्यटन प्रवद्र्धन गर्ने गरी लगानी गर्न सुझाव दिनुभयो । अभिमुखीकरण कार्यक्रममा जिल्ला तहमा निर्माण गरिएका जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिपछि अब स्थानीय तहमा कम्तीमा ११ सदस्यीय स्थानीय पर्यटन प्रवद्र्धन समिति निर्माण गर्ने निर्णय गरिएको छ ।

उक्त समितिको संयोजकमा स्थानीय पालिका प्रमुख र दुई महिलासहित पालिकाका वडासदस्य, स्थानीय उद्योगी व्यवसायी, पत्रकार सदस्य रहने व्यवस्था गरिएको छ ।

यस्तै प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको आगामी बैठक बर्दियाको ठाकुरद्धारामा आयोजना गर्ने र भ्रमण वर्ष मूल समितिमा ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय भएको पर्यटन प्रवद्र्धन समितिका संयोजक उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले जानकारी गराउनुभयो । मन्त्री गिरीले प्रदेश नं ५ ले सिङ्गो मुलुकको पर्यटन व्यवसायलाई जोड्ने यसको प्रमुख माध्यम भनेकै लुम्बिनी बन्ने बताउनुभयो । उहाँले पर्यटन व्यवसाय बढ्न नसक्नुमा मुख्यतया सडक, यातायातलगायत सबै प्रकारका पहुँचका सञ्जालको अभाव रहेको भन्दै यसतर्फ योजना बनाएर काम गर्न सुझाव दिनुभयो ।

मन्त्री गिरीले प्रदेश सरकारले मुख्यरुपमा जनतालाई फाइदा पुग्ने गरी मात्र पर्यटनको क्षेत्रमा लगानी गर्ने भएकाले स्थानीयरुपमा योजना बनाउँदा जनतालाई मुख्यरुपमा फाइदा हुने गरी योजना ल्याउन आग्रह गर्नुभयो । त्यस अवसरमा मन्त्रालयका सचिव डा राधा वाग्लेले पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दा बाह्य र गुणस्तरीय पर्यटक आकर्षण गर्ने मुख्य लक्ष्यसहित राज्यका सबै निकाय सङ्घ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्र त्यसैअनुरुपका कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भ्रमण वर्षका योजना प्रस्तुत गर्नुहँुदै विभिन्न क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर पर्यटन प्रवद्र्धन गरी आर्थिक उपार्जनमा जोड्न सकिने सम्भावना रहेको बताउनुभयो । सचिव वाग्लेले प्रदेश सरकार स्थापनाको छोटो अवधिमा नै गत वर्ष पर्यटन पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण काम सम्पन्न भएको र यसले पर्यटन प्रवद्र्धनमा राम्रो जग बसाल्न सकिएको बताउनुभयो ।

उहाँले लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरेर राखिएका कार्यक्रम नेपाल भ्रमण वर्षसँग सम्बन्धित कार्यक्रम सँगसँगै अगाडि बढाइने बताउनुभयो । कार्यक्रममा भ्रमण वर्षका कार्यक्रम प्रदेशस्तरमा सञ्चालन गर्ने विषयमा सहसंयोजक माधव नेपालले जानकारी गराउनुभएको थियो ।

उहाँले अभियानलाई प्रभावकारी र सफलतापूर्वक सञ्चालन गर्न भ्रमण वर्ष मूल आयोजक समितिले प्रदेशस्तरमा तय गरेका कार्यक्रममा कार्यक्रमलाई सहयोग पुग्ने गरी स्थानीय तया प्रदेश सरकार, पर्यटन व्यवसायी र निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गरिने जानकारी गराउनुभयो ।

यस्तै प्रदेश तथा स्थानीयस्तरमा पर्यटन प्रवद्र्धनका कार्यक्रम, पर्यटकीय वस्तुको उत्पादन, प्रवद्र्धन एवं बिक्री वितरणका कार्यमा सहजीकरण गर्ने, भ्रमण वर्षलाई सहयोग पुग्ने गरी वातावरण संरक्षण, पर्यटनमैत्री जनचेतना अभिवृद्धि, सरसफाइजस्ता कार्यक्रममा सरोकारवाला र सञ्चार क्षेत्रलाई परिचालन गर्ने उल्लेख गरिएको छ । यस्तै पर्यटकका लागि आवश्यक हस्तकला, घरेलु उत्पादन, अर्गानिक कृषिलगायतका स्थानीयस्तरका कार्यमा सहजीकरण र सहयोग गर्ने उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -