स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

मिनरल वाटर आयोजनाको अनुगमन

सेयर गर्नुहोस

२७ कात्तिक : खानेपानीमन्त्री बीना मगरले पनौतीमा सञ्चालनमा आएको मिनरल वाटर उत्पादनमा रहेको सानो आयोजनाबाट पनि व्यावसायिकीकरण गर्न सक्छौँ भन्ने आत्मविश्वास बढाएको बताउनुभयो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ नयाँ बस्तीको नेपाल खानेपानी संस्थानद्वारा सञ्चालित मिनरल वाटर आयोजना अनुगमनमा उहाँले त्यहाँको उत्पादन राम्रो र बजारमा अन्य पानीसरह प्रतिस्पर्धा गर्न सकेकोले अझ विस्तार र विकास गर्न लागिपरेको बताउनुभयो ।

आयोजनागत हिसाबले सानो अयोजना भए पनि खानेपानी संस्थानले आफूलाई विकास गर्न खोजिरहेको बताउँदै उहाँले जनताको खानेपानीको पहुँचको सुनिश्चिततासँगसँगै बजारसँग खुल्ला प्रतिस्पर्धा गर्दै आफ्ना उत्पादनलाई स्वच्छ, स्वास्थ र गुणस्तरयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो आयोजनामा यसअघि ६०÷७० जार पानी निकालेकोमा अहिले २६५ जार निकाल्नु राम्रो कुरा भएको बताउँदै मन्त्री मगरले थोरै लगानी भए पनि वार्षिक नाफा राम्रै भएको बताउनुभयो ।

पनौतीमा रहेको सो आयोजना स्वच्छ पानी प्राकृतिक मिनरल वाटर भएका कारण त्यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पनि वितरण गर्न सक्छौँ भन्ने कुरालाई प्रयोगात्मक रुपमा हेर्नका लागि पनि महत्वका साथ लिएको मन्त्री मगरले बताउनुभयो ।

सो क्रममा उहाँले राम्रो पानी पाउने ठाउँहरुमा सम्भाव्यता हेरेर त्यस्तो ठाउँमा खानेपानीको उद्योग खोल्ने तयारीमा संस्थान लागिरहेकोसमेत बताउनुभयो । सो क्रममा उहाँले संस्थानको टोली अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रतिस्पर्धा कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्भाव्यता अध्ययनको काममा लागिरहेको मन्त्री मगरले बताउनुभयो ।

पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले नगरपालिकाले संस्थानको लागि नगरपालिकाले उपलब्ध गराएको सात रोपनी जग्गामा अन्यत्रबाट मानिसहरु आएर बसिरहेको कारण त्यसलाई व्यवस्थापन गर्ने विषयमा सोचिरहेको बताउनुभयो । बाहिरबाट आएर बसेकाहरुलाई व्यवस्थित गर्न सकेको खण्डमा संस्थानको उद्देश्यलाई पूरा गर्न कुनै मसस्या नहुने बताउनुभयो ।

उहाँले पनौती र बनेपाको खानेपानी संस्थानको पानी खानयोग्य नभएको बताउँदै ती संस्थानले एकीकृत खानेपानीसँगको सहकार्य र समन्वयमा ठीक ढङ्गले भरोसा नदिएको बताउनुभयो । त्यसका लागि बसेर समस्या समाधान गर्नुपर्ने भएकाले त्यसका निम्ति आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो । कार्यालयका प्रमुख पुष्पाञ्जली बस्नेतले दैनिक २६५ जार उत्पादन गरी वितरण गर्दै आएको बताउनुभयो ।

त्यसका लागि पानीको मुहान र स्रोत राम्रो भएकाले व्यवस्थित गर्न सकेमा धेरै उत्पादन गर्न सकिने बताउनुभयो । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा भुपेन्द्र प्रसादले खुम्चिएको भागलाई विस्तार गर्दै उत्पादन क्षमतालाई विस्तार गर्न सकेको खण्डमा राम्रो अवसर प्राप्त गर्न सकिने बताउनुभयो ।

उहाँले जग्गा व्यवस्थान नगरपालिकाबाट हुने सहयोगका लागि आफूहरुले पूर्ण सहकार्य गर्दै काम गर्न र खुल्ला बजारमा गइसकेकाले उत्पादन बढाउने काममा आफूहरुले सोचिरहेको बताउनुभयो । विसं २०७४ मा स्थापना गरी उत्पादन शुरु गरेको आयोजनाबाट उत्पादन गरेका जारको पानी सिहंदरबारभित्रका विभिन्न मन्त्रालयमा वितरण गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -