स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

बङ्गलादेशका राष्ट्रपति भोलि आउँदै

सेयर गर्नुहोस

 २५ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्नुहुने भएको छ ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सि बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उहाँले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्नु हुनेछ ।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नु हुनेछ ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नु हुनेछ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

वैकल्पिक सडकको प्रयोग गर्न आग्रह

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आज एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म हुने नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको हो । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ । दुई किलोग्राम कोकिनसहित पक्राउ नेपाल प्रहरीले दुई किलोग्राम कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले दुई किलोग्राम १०० ग्राम कोकिनसहित ब्राजिलका नागरिक ६१ वर्षीय सर्जियो ट्रस ओगावालाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले ब्राजिलको सापाउलोबाट कतार एयरवेजको उडानद्धारा दोहाहुँदै नेपाल आएका ओगावालाई लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

“कालो रङको सुटकेशमा खानतलासी गर्दा कालो रङको पेपरमा बेरेर फल्सबटम बनाईल्याएको अवस्थामा चेकजाँचका क्रममा पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेका ओगावालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको लामाले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -