उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती

उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती


Nepali Congress, NC

२२ कात्तिक : नेपाली काङ्ग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो ।

सो चुनावमा काङ्ग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको थियो । घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो ।

Advertisement

उपचुनावमा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा हुनुहुन्छ । काङ्ग्रेसले अघिल्लो चुनावमा पराजित शेरचनलाई पुनः उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो ।

विसं २०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको काङ्ग्रेस वाम तालमेलकै कारण पराजित भएको थियो । विसं २०७४ को चुनावपछि भने तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ । त्यो बेलाको तीनदलीय वाम गठबन्धन उपचुनावसम्म आइपुग्दा दुईमा झरेको छ ।

नेकपा र राजमोको केन्द्रीय नेतृत्वबीच उपचुनावमा पनि वाम तालमेललाई निरन्तरता दिने सहमति भएपछि उक्त क्षेत्र राजमोले पाएको हो । यो चुनावमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । चुनाव जित्ने जिकिर भने दुवैतर्फका उम्मेदवार र नेताको छ ।

नेपाली काङ्ग्रेसका सभापति दीपेन्द्रबहादुर थापा यसपालिको वाम तालमेललाई ‘आत्मिय’ नभएको रूपमा अथ्र्याउनुहुन्छ । “पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता प¥यो होला”, सभापति थापाले भन्नुभयो, “उहाँहरुको एकता आत्मियखालको छैन, एकतर्फीजस्तो छ ।” काङ्ग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएकाले चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ।

“गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन”, उहाँले भन्नुभयो, “अहिले परिस्थिती फरक छ, हामी चुनाव जित्छौँ ।” उहाँले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पुरा गर्न नसकेको आरोपसमेत लगाउनुभयो । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ ।

राजमाका जिल्ला अध्यक्ष अमर थापा भने अघिल्लो चुनावमा भन्दा बढी मतका साथ चुनाव जितिनेमा ढुक्क हुनुहुन्छ । उहाँले भन्नुभयो, “काङ्ग्रेसले जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि काङ्ग्रेसकै थियो” उहाँले भन्नुभयो, “त्यो परिस्थितिमा त काङ्ग्रेस ठूलो मतान्तरसहित चुनाव हा¥यो, अहिले कसरी जित्छ ? जित्दैन ।” तीनै तहमा बलियो कम्युनिष्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेदवारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ । उहाँले उम्मेदवारीलाई लिएर छिटपुट असन्तुष्टि देखिए पनि त्यो समाधान हुने बताउनुभयो । सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठेरो परेको छ ।

“उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन”, अध्यक्ष थापाले भन्नुभयो, “विश्वास छ उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरुले पहल गर्नुहुनेछ ।” शेरमान तत्कालीन नेकपा (माआवोदी केन्द्र) मा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आवद्ध हुनुहुन्थ्यो ।

गएको स्थानीय तह चुनावमा उहाँ माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लड्नुभएको थियो । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उहाँको उम्मेदवारी फिर्ता हुने बताउनुभएको थियो । राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताउनुभयो । “अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ”, उहाँले भन्नुभयो, “सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।” उहाँले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

अव्यवहारिक र महत्वकाङ्क्षी योजनाभन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उहाँको भनाइ छ । को हुन् शाही र शेरचन ? राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य हुनुहुन्छ । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय हुनुभएको हो ।

उहाँ राजमोका पाका र विश्वासिला नेता मानिनुहुन्छ । यस्तै नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्नुभएका शेरचन विद्यार्थीकालदेखि नै काङ्ग्रेसको राजनीतिमा आवद्ध हुनुहुन्छ । ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी सङ्घको तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापतिसमेत हुनुभएको थियो । काङ्ग्रेसजनमाझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रूपमा चिनिनुहुन्छ । शेरचनलाई नेपाली काङ्ग्रेसले दोस्रोपटक उम्मेदवार बन्ने अवसर दिएको हो ।

राजमो, नेपाली काङ्ग्रेससहित आठ दल र दुई स्वतन्त्र उम्मेदवारले उपचुनावका लागि मनोनयन दर्ता गरेका छन् । अन्य दलमा समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?