स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

‘नेपालका अन्य नगरपालिकालाई पनि सिटीनेटको विकल्पमा राख्न आग्रह’

उपराष्ट्रपति नन्दबहादुर पुन
सेयर गर्नुहोस

 २० कात्तिक : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका सबै नगरपालिकालाई एशिया– प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत तिनीहरुसँग सरोकार राख्ने लगानीकर्ताहरुको संस्था (सिटीनेट) को सदस्य बनाउन आग्रह गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि शुरु भएको सिटीनेटको ३८औँ अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल सरकारले देशलाई समृद्ध बनाउन कृषि उत्पादनमा थप जोड, देशमा सम्भावना भएसम्मको खनिज उत्खनन, जलवायु परिवर्तन र पर्यटन विकासमा जोड दिन लागिपरेको बताउनुभयो ।

उहाँले मुलुकको विकासका लागि वैदेशिक लगानीको अति नै खाँचो रहेको औँल्याउनुभयो । नेपालको समृद्धि बढाउने पूर्वाधार भनेकै पर्यटन रहेकाले भ्रमण वर्ष २०२० मा सबै सदस्य राष्ट्रका मानिसलाई सपरिवार नेपाल घुम्न आउन आग्रह गर्नुभयो ।

सिटीनेटका सचिव तथा दक्षिण कोरियाको राजधानी नगर सिउलका प्रमुख पार्क वोन–सुनले सदस्य राष्ट्रका नगरपालिकालाई सो सम्मेलनबाट दिगो विकासको रणनीति हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । सिटीनेटका महासचिव विजय जगनाथनले पाटनको सम्पदा क्षेत्रभित्र दुई र चारपाङ्ग्रे सवारी साधन निषेध गर्न अति नै आवश्यक रहेको औँल्याउनुभयो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाल २९ वर्षअघि देखि सिटीनेटमा आबद्ध भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “एशिया प्रशान्त क्षेत्रका बढी राष्ट्रहरु सिटीनेटमा आबद्ध भएका छन् ।” महानगरपालिकाभित्र रहेको सम्पदाको प्रचारप्रसारका लागि भविष्यमा महानगरपालिकाले सम्पदा तथा दिगो पर्यटनसम्बन्धी सम्मेलन गर्ने योजना बनाएको प्रमुख महर्जनले बताउनुभयो । सिटीनेटमा हालसम्म विभिन्न मुलुकका १५६ सदस्य रहनुका साथै २२ देशका १३५ नगरपालिका संलग्न रहेका छन् । सिटीनेटमा नेपालका १४ वटा नगर सदस्य बनेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -