स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

अस्तित्व गुमाउने अवस्थामा जनकपुरधामको ऐतिहासीक पोखरीहरु

जनकपुरधामको ऐतिहासीक पोखरीहरु
सेयर गर्नुहोस


जनकपुरधाम, कार्तिक २० । जनकपुरधाम यहाँको धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले देशभरी नै प्रख्यात रहेको छ । प्राचिन मिथिलाको राजधानी एवं वर्तमान प्रदेश २ को राजधानी समेत रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रविन्दुको रुपमा रहेको छ ।

जनकपुरधाममा ५२ कुटी (मठमन्दिर) र ७२ कुण्ड (पोखरी) अर्थात जनकपुरका विभिन्न स्थानमा ५२ मठमन्दिर र ७२ पोखरी रहेको भएतापनि धेरै पोखरीको अस्तित्व समाप्त भई सकेको छ भने धेरैको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको छ । यहाँ रहेको बिहार कुण्ड, अग्नि कुण्ड, रत्न सागर, सूर्य कुण्ड, पापमोचनी सर, परशुराम कुण्ड, रूक्मिनी सर, मुरली सर, राम सर, तेलहा–मरहा, गंगासागर, अरगज्जा पोखरी, दशरथ तलाउ लगायत यहाँ महत्वपूर्ण पोखरीहरू रहेको छ । यहाँ रहेको हरेक पोखरीको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व रहेको छ ।


जनकपुरधामको मध्य भागमा रहेको धनुषसागर, गंगासागर र अंगराजसर पोखरीहरूमा महिनाको पूर्णिमा तिथिको दिन श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । यसबाहेक अन्य धार्मिक उत्सवहरूमा समेत यी पोखरीहरूमा ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्दछन् । गंगासागर, धनुषसागर र अंगराजसर पोखरीमा स्नान गरेर जानकी मन्दिर र राम मन्दिरमा श्रद्धालुहरूले पूजा गर्दछन् । यहाँ पोखरीमा स्नान गर्न नेपाल सहित छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुभक्तजनहरु आउने गर्दछन् ।


त्यस्तै जानकी मन्दिरभन्दा पश्चिममा रहेको महाराज सागरको छुट्टै महत्व छ । जेष्ठ महिनामा हुने गंगा दशहारामा यहाँ तिर्थालुहरू स्नान गरी जानकी मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन् । पोखरी र कुण्ड जनकपुरधाममा अधिक मात्रामा रहेकोले जनकपुरधामको माछा नेपालमै प्रख्यात छ । यहाँको प्रमख व्यवसाय मध्ये एक हो माछा पालन । अत्याधिक संख्यामा रहेका पोखरीहरूले वातावरणीय सन्तुलन बनाउनसमेत सहयोग र्पुयाइरहेका छन् । अधिकांश समय गर्मी हुने जनकपुरको तापक्रमलाई समेत केही हदसम्म नियन्त्रण गर्न मद्दत गरेको छ ।

जनकपुरधामको ऐतिहासीक पोखरीहरु


तर, जनकपुरका गंगा सागर, धनुष सागर, अंगराज सागर लगायतका केही पोखरीबाहेक यहाँको अन्य पोखरी सरसफाई नरहेको कारण आफ्नो अस्तित्वनै गुमाउने अवस्थामा पुगेको छ । पोखरीको सौन्दर्यकरण तथा सरसफाई गर्नुको साटो यहाँको नागरीक यहाँ रहेको पोखरीलाई फोहर मैला तथा नालाको पानीको निकासा गर्ने गरेकोले यहाँको पोखरीहरु दुर्गन्धित हुँदै गएको छ ।
स्थानिय सहित सम्बन्धित सरोकारवालाले पोखरीको सौन्दर्यकरण तथा सरसफाइप्रति  ध्यान नदिँदा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका मठमन्दिर र पोखरीहरू अब इतिहासमा मात्रै सिमित हुने भएको देखिन्छ ।

पोखरीको सौन्दर्यकरण गर्नुको साटो यहाँको पोखरीमा आफ्नो घरको फोहोरमैला लगायत मलमुत्र खन्याउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का रोसन साहले बताए । उनले भने, ‘पोखरीको संरक्षण गर्नुको साटो आफ्नो घरको फोहोेर पनि पोखरीमै राखेपछि पोखरीको अस्तित्वनै धरापमा पर्ने अवस्थामा आई सकेको छ ।’ पोखरीलाई दुर्गन्धित मात्र नगरेर पोखरीको डिलमाथी अतिक्रमण समेत गर्ने गरेको साहले बताए ।  
जनकपुरधामको अधिकांश पोखरीहरु दुर्गन्धित भएतापनि केही पोखरी यहाँ आउनेहरुलाई लोभ्याउने समेत गरेको छ । कुनै समय दुर्गन्धित अवस्थामा रहेको गंगासागर पोखरीको सरसफाई भएपछि अहिले यो पोखरीमा आउनेहरुको संख्या बढेको छ । सेभ हिस्टोरीकल जनकपुरका अध्यक्ष एवं प्रदेश सांसद रामअशिष यादवको अगुवाईमा गंगासागर पोखरीको सरसफाई भएपछि यहाँ हुने गरेको महागंगा आरती आकर्षणको केन्द्र बनेको छ ।


मानिसको खराब प्रवृतिको कारणले दिनानुदिन पोखरीहरूको अवस्था बिग्रिँदै गएको जनकपुरधाम वडा नं. ५ का रमेश झाले बताए । उनले भने, ‘जब सम्म पोखरीहरू हामी सबैका साझा सम्पत्ति हो र यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । यो सोँच नआएसम्म कुनै पनि हालतमा पोखरी सौन्दर्य हुन सक्दैन् ।’
यता, पोखरीको सरसफाई तथा सौन्दर्यकरणगर्न खानेपानी तथा सरसफाई मन्त्रालयले उपमहानगरसँग सहकार्य गरेर जनकपुर उपमहानगर परिक्रमा सडकभित्र रहेको पोखरीलाई सौन्दर्यकरण गर्न करिब १ अर्ब बराबरको  लागतमा टेन्डर गरेपनि अहिले सँघ सरकारले त्यसलाई रद्द गरेको उपप्रमख रिता कुमारी मिश्रले बताइन् ।


जनकपुर टाउन प्रोफाइल २०४८ मा उल्लेख भएअनुसार यहाँ अहिले ५८ सार्वजनिक पोखरी र अन्य माछापालन, मखाना, सिंघारा आदि खेती गर्ने प्रयोजनका ४० हेक्टर जग्गामा कुल ८० पोखरी रहेको उल्लेख छ । जसमध्ये २४ दशमलव १५ ठीक अवस्थामा, ४३ दशमलव १ प्रतिशत नराम्रो अवस्थामा तथा ३२ दशमलव ८ प्रतिशत अस्तित्व गुमाइसकेका पोखरीहरू छन् । 

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -