स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

कम्युनिष्टको सही आचरण हुन आवश्यक छ : मुख्यमन्त्री शाही

सेयर गर्नुहोस

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कम्युनिष्ट नेता कार्यकर्ताको सही आचरणले मात्रै जनतालाई कम्युनिष्ट पार्टीप्रति भरोसा जगाउन सकिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खाडाचक्र नगर कमिटीद्वारा आज कालिकोटको सदरमुकाम मान्मामा आयोजित प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री शाहीले कम्युनिष्ट कार्यकर्ताले आर्जन गरेको ज्ञान व्यवहारमा लागू नगरे समाजवाद निर्माण गर्न नसकिने बताउनुभयो ।

नेकपाको केन्द्रीय सदस्य एवम कालीकोट इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री शाहीले कम्युनिष्ट कार्यकर्तामा सिद्धान्त र व्यवहारबीच तालमेल मिल्नुपर्नेमा जोड दिनुभयो । “ज्ञान सिद्धान्त अरूलाई सिकाउने कुरा मात्रै हो, आफूले लागू नगर्दा पनि हुन्छ भन्ने सोच हाबी भइरहेको छ,” उहाँले भन्नुभयो, “आफूले आर्जन गरेको ज्ञान आफ्नो जीवन व्यवहारमा लागु नगर्ने व्यक्ति कम्युनिष्ट हुनै सक्दैन ।”

कम्युनिष्टको आदर्श र व्यवहार अन्यका लागि अनुकरणीय हुनुपर्ने उहाँको भनाइ थियो । कम्युनिष्ट कार्यकर्ता आफूसँगै कठोर सङ्घर्ष गरेर आफैँ परिवर्तन हुन सके मात्रै समाज परिवर्तनको जिम्मेवारी पूरा गर्न सकिने उहाँले बताउनुभयो ।

कडा अनुशासन, तीव्र इच्छाशक्ति, श्रमप्रतिको सम्मान, सामूहिक सोच र जनताको सर्वोपरि हित नै असल कम्युनिष्ट कार्यकर्ताको वास्तविक पूँजी हुने उहाँको जिकिर थियो ।

जनतालाई कम्युनिष्ट पार्टीप्रति आशा जगाउन सकिने वातावरण तयार गर्न उहाँले पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले भन्नुभयो, “कम्युनिष्ट नेता कार्यकर्ताको अहिलेको मुख्य कार्यभार समृद्ध नेपाल निर्माण गर्नु हो ।

आर्थिक विकासबाट मात्रै मुलुकले समृद्धि प्राप्त गर्ने भएकाले विकासका लागि उत्पादनमूलक काममा लाग्न नेता कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्छ ।” उत्पादनको विकासका लागि सरकारले सहयोग गर्ने भन्दै मुख्यमन्त्री शाहीले प्रत्येक कार्यकर्ताले कुनै न कुनै उत्पादनको योजना बनाएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -