गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीदले देखेका सपना पूरा गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभएको छ । थमन परियार स्मृति प्रतिष्ठानद्वारा पोखरा २८ माझठानामा आज आयोजित शहीद थमन परियार स्मृति खेल मैदान र वडास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानीबाट मुलुक वर्तमान अवस्थासम्म आउन सफल भएको बताउनुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको अभियानलाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले जनताका आधारभूत आवश्यकता पूरा गर्न सकेमात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने विचार व्यक्त गर्नुभयो ।
सरकारले अहिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडकलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउँदै मुख्यमन्त्री गुरुङले मुलुकबाट विभिन्न खाले उत्पीडनको अन्त्यका लागि गरीबी निवारणमा जोड दिइनुपर्ने धारणा राख्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हीतराज पाण्डेले मुलुकका तीनै तहका सरकारले शहीद र बेपत्ता परिवारलाई लक्षित गरी आर्थिक उपार्जनका योजना ल्याउनुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्यद्वय दीपक कोइराला र गायत्री गुरुङले शहीदहरुको बलिदानीबाट मुलुकमा एकात्मक राज्य व्यवस्था अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्नुभयो । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले महानगरले पोखरा १८ को ४५ रोपनी जग्गामा राष्ट्रिय विभूति शहीद स्मृति पार्क निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले यस क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार विकाससँगै उत्पादनमा जोड दिन स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो । कार्यक्रममा शहीद थमन परियारकी धर्मपत्नी विष्णुमाया परियार, कमल परियाका बुबा आइतबहादुर परियार र सन्तोष राईभाटका आमा मिठुलक्ष्मी राईभाटलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष निर्मल दियाली, सचिव बैनबहादुर गुरुङ लगायतले शहीदले देखेका सपना पूरा गर्नु सबैको दायित्व भएको धारणा राख्नुभयो ।