स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

कुनै अलमलविना शान्ति, स्थिरता र सुशासनको बाटोमा : मुख्यमन्त्री राई

सेयर गर्नुहोस

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘समृद्घ नेपाल, सुखी नेपाली’को यात्रा तय भइसकेकाले कुनै अलमलविना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा हिँडिरहेको बताउनुभएको छ ।

आज यहाँ भोजपुरे सेवा समाज, काठमाडौँले आयोजना गरेको देउसी, भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य लिएर सोहीअनुसार काम गरिरहेको बताउनुभयो ।

उहाँले हाम्रो यात्रा गति अलि धीमा भए पनि कानून र प्रशासनिक संरचना निर्माणमा समय लागेकाले यसलाई अन्यथारुपमा लिननहुने पनि बताउनुभयो ।

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गरेर प्रदेशमा समृद्घि ल्याउने पनि बताउनुभयो । यसका लागि आफूहरुले कानून निर्माण गरिसकेको पनि उहाँले बताउनुभयो । उहाँले विश्वमा जहाँसुकै बसेका भए पनि भोजपुरवासीले आफूले सिकेको सीप प्रदेश १ निर्माण र देश निर्माणमा लगाउन पनि आह्वान गर्नुभयो ।

मुख्यमन्त्री राईले भोजपुरमा पनि विस्तारै मध्यपहाडी राजमार्ग कालोपत्र गर्ने र विमानस्थल–भोजपुर मार्ग कालोपत्र गर्ने काम भइरहेको बताउनुभयो । त्यस्तै भोजपुरमा रङ्गशाला, टेम्केमा भ्यूटावर निर्माण, अरुण, दूधकोशी आदि नदीमा भोजपुर जोड्ने ठूला पुलका योजना रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा नेता प्रदीप नेपाल, मुकुन्द न्यौपाने, पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, समाजका पूर्वअध्यक्ष दयाकृष्ण न्यौपाने, समाजका अध्यक्ष शेर्पालगायतले आउन लागेका तिहार, छठ, नेपाल संवत्को नयाँ वर्ष, उधौली र ल्होसार आदिको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा कलाकार व्रत गन्धर्वले सारङ्गी धुनसहित गीत प्रस्तुत गर्नुभएको थियो भने कलाकार राजा राजेन्द्र पोखरेल, श्रीकृष्ण सिंखडाले हास्यव्यङ्ग्य, गायक कृष्ण समीप, गायिका लीला राई, गायक भीषण मुकारुङ र राजसागर आदिले गीत तथा विभिन्न कलाकारले आकर्षक देउसी–भैलो प्रस्तुत गरी समारोहलाई पूर्वेली लोकसंस्कृतिले उल्लासपूर्ण बनाएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -