स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना

सेयर गर्नुहोस

बुटवल, ३ कात्तिक :महामानव गौतमबुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ ।

सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई नगरका विभिन्न क्षेत्रबाट सडक सञ्जालले जोडिसकेको परिप्रेक्ष्यमा लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले महत्वपूर्ण आयोजनाहरु अगाडि बढाउन थालेको हो ।

विदेशी विद्धान पर्सिवलले ठम्याएको सैनामैनाको दरबार भएको ठाउँलाई स्थानीय मानिसहरुले बुद्धको दरबार भन्ने गरेको डा बिष्णु घिमिरेलाई उद्धृत गर्दै सैनामैना नगरपालिकाले प्रकाशित गरेको सैनामैना दर्पण पुस्तकमा उल्लेख गरिएको छ । राजा शुद्धोधनले आफ्ना पुत्र राजकुमार सिद्धार्थको मन बहलाउन राज्यभित्र तीन स्थानमा बनाएका तीनवटा दरबारमध्येको एउटा यही सैनामैनाको दरबार हुनसक्ने सम्भावनालाई नगरपालिकाले औँल्याएको हो । यस्तै, बुद्धसँग सम्बन्धित अर्को मान्यता समेत रहेको छ । गौतम बुद्धकी माता महामाया देवीले यसै सैनामैना क्षेत्रकी मैना नामकी सामगामकी नायिका रानीसँग सैना लगाएको हुँदा यस क्षेत्रको नाम सैनामैना रहेको किंवदन्तिलाई पनि इतिहासकारहरु स्मरण गर्छन् । सैनामैनामा एक दर्जनभन्दा बढी पुरातात्विक स्थलहरु रहेका छन् ।

यीमध्ये आधा दर्जन स्थानहरु बुद्धकालीन समयसँग कुनै न कुनै रुपले जोडिएको देखापर्छ । सैनामैना नगरपालिकामा करीब तीन दर्जन धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेका छन् । यी सम्पदाहरुलाई पर्यटकीय गन्तब्यको रुपमा नगरपालिकाले एकीकृत दीर्घकालीन योजना निर्माण गरी विकास गर्ने लक्ष्य राखेको नगरप्रमुख चित्रबहादुर कार्की बताउनुहुन्छ । सैनामैना नगरपालिकाको वडा नं १ स्थित रानीबगियामा रहेको पर्राेहापरमेश्वर बोलबमधाम नगरको महत्वपूर्ण धार्मिक सम्पदाको रुपमा रहेको छ । हरेक वर्ष साउन महीनामा भारतबाट समेत बोलबम तीर्थयात्रीहरु दर्शनका लागि यहाँ आउने गर्दछन् ।

यस्तै, अर्को महत्वपूर्ण धार्मिक केन्द्र मलमलाधाम नगरको वडा नं ६ स्थित चुरे शृङ्खलाको काखमा अवस्थित छ । प्राकृतिक सिमसार क्षेत्रको रुपमा राजापानी सिमसार क्षेत्र वडा नं ११ को राजापानी भन्ने स्थानमा रहेको छ । वडा नं ५ बक्सडडाँडामा रहेको काटियामाई मन्दिर, किरातेश्वर मन्दिर, कोटियाथान अन्य धार्मिक स्थलहरु हुन् । सैनामैना पर्यावरणीय तथा सांस्कृतिक सङ्ग्रहालय नगरको वडा नं १ मा रहेको छ । यो सङ्ग्रहालयमा पुरातात्विक सामग्री, प्रस्तर मूर्ति, शिलापत्रहरु रहेका छन् । विपश्यना ध्यान केन्द्रसहितको सङ्ग्रहालय निर्माण गर्ने गुरुयोजना तयार पारिएको नगरप्रमुख कार्की बताउनुहुन्छ । सङ्ग्रहालय निर्माण हुने क्षेत्रको बिहीबार अवलोकन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले डिपिआर पूरा भइसकेको सन्दर्भमा अब कुनै पनि बहानामा निर्माणका कामहरुमा विलम्ब नगर्न निर्देशन दिनुभयो ।

कुल लागत रु ३८ करोड अनुमान गरिएको यो सङ्ग्रहालय नेपाल सरकारको शहरी विकास मन्त्रालयमातहत निर्माण हुनेछ । यसका लागि पहिलो चरणमा सोही मन्त्रालयले रु १० करोड बजेट विनियोजन गरिसकेको छ । सैनामैना नगरपालिकाले अगाडि सारेका योजनाहरुको अवलोकन गर्न पुग्नुभएको महासचिव पौडेलले सैनामैनालाई लुम्बिनीसँग जोडेर विकास गर्नुपर्ने सुझाव दिँदै अहिले सम्भाव्यता अध्ययन भइरहेका योजनाका कामलाई छिटो अगाडि बढाउन पनि निर्देशन दिनुभयो । अवलोकनका क्रममा महासचिव पौडेलले सैनामैनाको बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

यस्तै, थारु होमस्टे नगरको वडा न २ उचडिहवामा सञ्चालनमा ल्याउन स्थानीय थारु समुदाय जुटेका छन् । आगन्तुक पाहुनालाई आनन्दित बनाउन होमस्टेसँगै जोडिएको उचडिहवा डिउहार ताललाई थप सुन्दर बनाउने काम थालिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरी बताउनुहुन्छ । सैनामैना नगरमा रहेको बोलबम हिलपार्क, सैनामैना समावेशी पार्क, पद्मपाणि आश्रम र प्राकृतिक चिकित्सालय, बुद्ध विहार लगायतका स्थललाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख कार्की बताउनुहुन्छ । सैनामैना क्षेत्रबाट लुम्बिनीको सडक यात्राको दूरी करीव १५ किलोमिटर रहेको छ । लुम्बिनी आएका पर्यटकलाई यति छोटो दूरीमा अवस्थित सैनामैनासम्म ल्याउन पर्यटकीय पूर्वाधारको निर्माणमा नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माणलाई दीर्घकालीन योजनामा समेटेको नगरप्रमुख कार्की बताउनुहुन्छ ।

दीर्घकालीन योजनामा रहेका पर्यटकीय क्षेत्र लामिरह जलाशय पार्कलाई बुद्ध सर्किटमा जोड्ने काम शुरु भएको छ । सैनामैना नगरपालिकाको ड्रिम प्रोजेक्टका रुपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन गरिएको थियो । यो जलाशययुक्त पार्कको निर्माणले सैनामैना क्षेत्रमा सिँचाइ सुविधासमेत पुग्ने नगर प्रमुख कार्कीले जानकारी गराउनुभयो । उहाँका अनुसार चुरे संरक्षण, पर्यावरण संरक्षण, भूमिगत स्रोतहरुमा पानीको सञ्चितीदेखि हरियाली प्रवद्र्धनमा टेवा पुग्नेछ । यहाँ करीब सात किलोमिटर लामो पैदल पथ निर्माण तथा डुङ्गा सञ्चालन गर्ने समेत योजना छ ।

सैनामैनामै विशेष सङ्ग्रहालय बन्ने भएको छ । सैनामैनाको बुद्धकालीन सभ्यतालाई संरक्षण गर्दै वडा नं १ को बनकट्टामा उक्त सङ्ग्रहालय निर्माण गर्न लागिएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो । सङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । बुद्धकालीन सभ्यताको ऐतिहासिक शहर बुद्धवली भनी मानिने क्षेत्र सैनामैना बुटवलको जितगढीसम्म फैलिएको विभिन्न ग्रन्थहरुमा उल्लेख रहेको पनि उहाँ बताउनुहुन्छ । लुम्बिनी आएका पर्यटकलाई सैनामैनासम्म ल्याउने वातावरण निर्माणका लागि पूर्वाधार बनाउने काममा नगरपालिकाले जोड दिइआएको छ ।

सैनामैना नगरपालिकाले आवश्यक कानूनहरुको निर्माणका कामलाई तीव्रता दिएको र स्वीकृत योजना अनुसारका कामहरु प्राथमिकताका साथ अगाडि बढाउने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -