स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति सीको भ्रमणले नेपालीमा उत्साह, सम्बन्धले गति लिँदै

signing-cermony - xi and kp oli
सेयर गर्नुहोस

चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण सोमबार सफलतापूर्वक सम्पन्न भएको छ । चिनियाँ राष्ट्रपतिको यो उच्चस्तरीय भ्रमण राष्ट्रपतिस्तरमा २३ वर्षपछि सम्पन्न भएको हो । यो भ्रमणलाई नेपालले केही वर्षदेखि व्यग्र प्रतिक्षा गर्दै आएको थियो ।

खासगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली २०७२ मा चीन भ्रमण गर्नु भई विभिन्न युगान्तकारी सम्झौता गर्नु भएपछि चिनियाँ राष्ट्रपति सीले नेपालको भ्रमण गर्नुपर्ने अपेक्षा गरिँदै आएको थियो । तर नेपालका राजनीतिक उतारचढाव र अन्योलका कारण सो सम्भव हुन सकेको थिएन । तर अहिले भने चिनियाँ राष्ट्रपतिको सदाशयताले यो सम्भव भएको हो ।

राष्ट्रपति सी यही असोज २५ गते भारतको महावलिपुरम्को भ्रमण गरी चेन्नाई हुँदै काठमाडौँ आउनुहँुदा नेपाली जनताले उहाँलाई भव्यतापूर्वक स्वागत गरे । काठमाडौँ दुलही झै सिँगारिएको थियो भने भ्रमण अवधिमा काठमाडौँका सडक सफासुग्घर, धुलोविहीन र कतैकतै भर्खरै गरिएको कालोपत्रले निकै चिल्ला र सुन्दर देखिन्थे । सवारी मार्गका सडकका दायाँबायाँ बिरुवा रोपिएको थियो भने अत्यन्तै स्याहार पुगेका फुलिसकेका फूलहरु रोपी वातावरणमा मनमोहकता भर्ने प्रयास गरिएको थियो । ठाउँठाउँमा राखिएका दुवै राष्ट्रका राष्ट्रपतिका तस्वीर अङ्कित बोर्डले काठमाडौँ सजिएको थियो ।

तीनकुनेको खाली ठाउँमा पनि पहिले जस्तो फ्लेक्स बोर्डले छोप्ने मात्र नभई रातारात दुवो तथा अन्य बिरुवा रोपी उद्यानको रुप दिई हरियाली सिर्जना गरिएको थियो । भ्रमण अवधिमा सफासुग्घर, धुलोरहित र खाल्डारहित सडक देखेका यात्रुहरुले काठमाडौँलाई सधैँ यस्तै राख्नुपर्ने चाहना व्यक्त गरेका थिए । राष्ट्रपतिको आगमन र बिदाइमा नेपाली जनताले उत्तिकै उत्साहपूर्वक स्वागत र बिदाइ गरे ।

राष्ट्रपति सीले उहाँ काठमाडाँै आएकै दिन नेपालका राष्ट्रिय दैनिकमा प्रकाशित उहाँको लेखमा राजकुमारी भृकुटी, अरनिको, ह्वेन साङ्, बुद्घभद्रबाट सृदृढ बन्दै गएको नेपाल चीन सम्बन्धलाई अघि बढाउँदै आपसी सहयोगको नयाँ खाका कोर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ¬¬¬¬। उहाँले दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल विकास गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभएको थियो ।

चिनियाँ राष्ट्रपति सी काठमाडौँ ओर्लिएपछि राष्ट्रपति भवन शीतलनिवासमा आयोजित स्वागत समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीन भूगोल र संस्कृतिले नजिकबाट बाँधिएका र सम्बन्धको जग बलियो र अटल हुनाका साथै वौद्घ दर्शनले दुवै देशलाई मार्गदर्शन गरेको बताउनुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्घ भएको र नेपाली भूमि चीनविरुद्घ प्रयोग हुन नदिइने प्रतिबद्घता पनि जनाउनुभयो ।

त्यहाँ गर्नुभएको सम्बोद्धनमा राष्ट्रपति सीले नेपालको व्यापार घाटा कम गर्न सहयोग गर्ने बताउनुहुँदै नेपालले लिएको एक चीन नीतिका लागि धन्यवाद दिनुभयो । उहाँले नेपालमा मदन भण्डारी विश्वविद्यालय स्थापना गर्न चीनले सघाउने प्रतिबद्घता पनि व्यक्त गर्नुभयो । सोही अवसरमा राष्ट्रपति सीले नेपाली जनताको जीवनस्तर उकास्न सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ आरएमवी (चिनियाँ मुद्रा) अर्थात लगभग ५६ अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने जानकारी पनि दिनुभयो ।

सोही दिन साँझ होटल सोल्टीमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा दिनुभएको राजकीय भोजमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउँदै नेपालले केरुङदेखि काठमाडौँ हुँदै लुम्बनीसम्म रेलमार्ग हेर्न चाहेको पनि बताउनुभयो ।

राष्ट्रपति सीले उहाँको प्रत्युत्तरमा दौत्य सम्बन्धको आधा शताब्दीभन्दा बढी हँुदासम्म नेपाल र चीनले विश्वमै नमूना सम्बन्धको उदाहरण पेश गरेको बताउनुभयो । उहाँले नेपाल चीनबीच कुनै समस्या छैन, मित्रता मात्र छ पनि भन्नुभयो ।

भ्रमणको दोस्रो दिन असोज २६ गते बिहान होटल सोल्टीमै नेपाल चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व चीनका राष्ट्रपति सीले गर्नुभएको थियो । वार्तापश्चात २० बँुदे सहमतिमा हस्ताक्षर भयो भने दुई देशका परराष्ट्रमन्त्री लगायतका मन्त्री र पदाधिकारीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री ओलीको समुपस्थितिमा हस्ताक्षरित कागजात आदानप्रदान गर्नुभएको थियो ।

बीस बँुदे सहमतिपत्रमा नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी आदानप्रदान पत्रमा हस्ताक्षर भयो भने नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भयो । यसबाट अब रेलमार्गको सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने बाटो खुलेको छ ।

दुई देशवीच नेपालबाट चीनमा अमिला वर्ग (साइट्रस) का फलफुल निर्यात गर्ने फाइटोस्यानेटरी (वनस्पति स्वच्छता) सम्बन्धि प्रोटोकलमा हस्ताक्षर भयो भने काठमाडौ उपत्यकाका नगरक्षेत्रमा खानेपानी आपूर्तिमा सुधार गर्ने सम्बन्धी पनि हस्ताक्षर भयो ।

यस्तै, नेपालको अर्थमन्त्रालय र चीनको अन्तरराष्ट्रिय सहयोग नियोगवीच पनि सुरुङ निर्माणमा सहयोग सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भयो । यसैगरी काठमाडौ र नानजिङ तथा वुटवल र सियानवीच पनि भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भयो ।

यसैगरी, लगानी सहयोग कार्यदल गठन गर्ने, सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षण, परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारीपत्र, सीमा व्यवस्थापन, शासकीय क्षमता अभिवृद्घि, तथा अपराध नियन्त्रण, दैविप्रकोप न्यूनीकरण, लगानी अभिवृद्घि आदि क्षेत्रमा सहयोगका लागि पनि समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

भ्रमणको अन्त्यमा प्रकाशित संयुक्त विज्ञप्तिमा दुई मुलुकबीच शान्तिपूर्ण सहअस्तित्वका नमूना प्रस्तुत गरेको भनी दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । दुवै पक्षले दुई मुलुकबीचको दुईपक्षीय सम्बन्ध समानता, सौहाद्र्रपूर्ण सहअस्तित्व र निरन्तर मित्रता र एकीकृत सहयोगका रुपमा चित्रित गर्न सकिने भनी स्वीकार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । चीनले नेपाललाई रेलमार्ग, सडक, आन्तरिक जलमार्ग, सुरुङमार्ग, शिपिङ आदिमा इन्जिनियरिङ लगायत मानवीय स्रोतलाई तालिम उपलव्ध गराउने समेत प्रतिवद्घता जनाएको छ ।

नेपाल तथा चीनले क्षेत्र तथा मार्ग पहलकदमी (बेल्ट एण्ड रोड इनिशिएटिभ) लाई सबै क्षेत्रमा एकीकृतरुपमा आपसी फाइदाका सहयोगलाई गहन बनाउने, साझा समृद्धि प्राप्त गर्न संयुक्तरुपमा प्रयास गर्ने तथा यस क्षेत्रमा शान्ति, स्थायित्व तथा विकास कायम गर्न लागि पर्ने महत्वपूर्ण अवसरको रुपमा लिएका छन् ।

नेपाल र चीनबीच दुईपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको दुवै पक्षले स्वीकार गरेका छन् । दुवै पक्षले शान्तिपूर्ण सह अस्तित्वका पाँच सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असल छिमेकीको सिद्धान्तका साथै निरन्तर मित्रताका आधारमा विकास तथा समृद्धिका लागि नेपाल र चीनबीच एकीकृत साझेदारी कायम गर्ने निर्णय पनि गरेका छन् । यसरी धेरै समयको अन्तरालमा भएको चिनियाँ राष्ट्रपतिको यस भ्रमणबाट चीनले नेपाललाई व्यापक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्घताका साथ नेपाली जनतामा उत्साह जगाएको छ भने नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गर्दै अघि बढेको विश्वास गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -