स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ : अध्यक्ष ‘प्रचण्ड’

prachanda, trending news, hot news, latest news - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, २६ असोज :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताउनुभएको छ ।

काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले काङ्ग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ ।”

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत काङ्ग्रेसबाटै भएको बताउँदै उहाँले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको छ भन्नुभयो । “अहिले सबैले शुभकामना आदानप्रदान कार्यक्रम हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण राख्ने माध्यम बन्न गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो । राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उहाँको भनाइ थियो । “असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठूलो दृष्टान्त पछिल्लो चरणमा काङ्ग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले यस प्रकारका शुभकामना आदानप्रदान गर्दै गर्दा त्यो महाअभियान, त्यतिबेला लिएका सङ्कल्प र प्रतिबद्धता प्रति दृढ रहँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै मुख्य हो भन्नुभयो । विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -