स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

हामीले एक चीन नीतिको पालना गरेमा नेपाल–चीन सम्बन्ध सुदृढ भएर जान्छ : पूर्वराजदूत कार्की

नेपालका लागि चीनका पूर्वराजदूत टङ्क कार्की
सेयर गर्नुहोस

काठमाडौँ, २३ असोज : नेपालका लागि चीनका पूर्वराजदूत टङ्क कार्कीले चीनबाट बढीभन्दा बढी लाभ लिनका लागि देशभित्र पनि सबै शक्तिको भावनालाई समेट्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालको राष्ट्रिय प्राथमिकताका कुरा राख्ने यो एक सुवर्ण अवसर हो भन्ने बताउनुभयो ।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा सन् २००७ देखि सन् २०१० सम्म चीनका लागि नेपाली राजदूत भएर काम गर्नुभएका कार्कीसँग राससकर्मी कालिका खड्काले गर्नुभएको कुराकानीः

१.नेपाल–चीन सम्बन्धलाई कसरी लिनुभएको छ ?
नेपाल–चीनबीच ज्यादै प्राचीन सम्बन्ध छ । यो सम्बन्ध सामाजिक सम्बन्धबाट नै विकास भएको हो । चीनसँगको सम्बन्धको आयामलाई खोतल्दै जाँदा चीनमा इस्वी संवत् शुरु हुनुभन्दा अगाडि नै चीनका सत्तासीन व्यक्तिले नेपालको लुम्बिनी र बुद्धको बारेमा जानकारी पाएका थिए । उनीहरु चीनमा बुद्ध धर्मको प्रचारप्रसार गर्नका लागि नेपालमा केही थाहा पाउन थिए । जनश्रुतिको कुरा गर्दा मञ्जुश्री नेपालमा आएको कुरा पनि छ । बुद्ध धर्मको प्रचारकै लागि पहिलो पटक इस्वीसंवत् ४०५ मा फाहियान नेपाल भ्रमणमा आएका थिए । फाहियानले लुम्बिनी, रामग्राम र कपिलवस्तुको भ्रमण गरे । बुद्धधर्मका राम्रा ज्ञाता बुद्धभद्रलाई फाहियानले भेटेका थिए । यसरी बुद्धधर्मको प्रचारप्रसार नेपालबाट चीनमा भएको देखिन्छ । इस्वी संवत् ६३८ मा हुएनसाङ भन्ने बौद्धगुरु नेपाल आएका थिए । तत्कालीन नेपालको इतिहासअनुसार बुद्धभद्र र हुएनसाङ मिलेर चीनमा बुद्धधर्मको प्रचारप्रचार गरे । यी दुईको यात्रा विवरणले लुम्बिनीमा गौतम बुद्ध जन्मिएका हुन् भन्ने कुरा स्थापित भयो । इस्वी संवत् ६३९ मा भृकुटीको स्रङचङ गम्पोसँग विवाह भयो । भृकुटी आफँैमा प्रकाण्ड विद्वान् थिइन् । उनले बौद्ध शिक्षामा उल्लेख्य काम गरेको देखिन्छ । त्यसले गर्दा चीनसँग राम्रो सम्बन्ध भयो । भृकुटीको विवाह भएको पाँच वर्षपछि चिनियाँ दूत वाङ नेपाल हुँदै भारत जान आएका थिए । त्यसबेला भारतमा पक्राउ परेका वाङलाई नेपालले उद्धार गर्न सहयोग गरेको थियो ।
अरनिकोको चीन भ्रमणले नेपालको शिक्षा, संस्कृति तथा प्रविधिको बढी प्रचार भयो । अरनिको चीनमा निर्माणमन्त्री पनि भए । यसरी प्रविधि आदानप्रदान भएको पनि छ । सन् १९५५ मा नेपाल चीनवीच दौत्य सम्बन्ध कायम भयो । यसपछि सम्बन्धलाई गति दिने काम भयो । त्यसयताको ६३÷६४ वर्षको सम्बन्धलाई हेर्ने हो भने तुलनात्मक रुपमा ठूलो मुलुक र सानो मुलुकबीच एकअर्कालाई बिझ्ने कुनै काम भएको छैन । ठूलो भनेर रापताप पनि भोग्नु परेन । सानो भनेर कमजोर महसुस पनि गर्नुपरेन । अहिले चीन विश्वको दोस्रो ठूलो शक्ति राष्ट्रका रुपमा विकास भएको छ । चीनका १४ वटा छिमेकी मुलुकहरुमध्ये तुलना गर्दा नेपाललाई चीनले पहिलो नम्बरमा राखेको छ । सबैभन्दा ठूलो सहयोग चीनबाट नेपालले प्राप्त गरेको छ ।

२. नेपाल–चीनबीचको वर्तमान सम्बन्ध कस्तो छ ?
चीन विश्वको शक्तिराष्ट्रको रुपमा विकास भइरहेको छ भने नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । चीनको विकासका साथै छरछिमेक र नेपालको विकासमा पनि ध्यान दिनुपर्ने चीनको दायित्व छ । नेपालको चीनसँग १४ सय चार किमी सिमाना जोडिएको छ । त्यसको विकासमा उनीहरु मद्दत गर्न तयार छन् । चीनका विदेशमन्त्री वाङ आउँदा तपाईँहरुले छानेका परियोजना र निर्धारित गरेको प्राथमिकतामा मद्दत गर्न तयार छौँ भन्नु असल छिमेकी सम्बन्धको जिम्मेवार अभिव्यक्ति हो भन्ने मैले महसुस गरेको छु ।

३) यो सम्बन्धलाई अझै सुदृढ बनाउन के गर्नुपर्ला ?
नेपालले चीनका हितलाई पनि सम्मान गर्नुपर्छ । एक चीन नीतिलाई सम्मान गर्नुपर्छ । साझा भविष्यका निम्ति अघि सारिएको प्रतिबद्धतालाई हामीले पनि पूरा गर्नुपर्छ । नेपाल अल्पविकसित मुलुक हो तर चीन विकसित मुलुक हो । असल छिमेकी भएको हिसाबले मुलुकको हितका लागि सम्बन्ध जोड्न जरुरी छ । चीनको सद्भाव नेपालले आर्थिक सामाजिक विकासका लागि लिनुपर्छ ।

३. चीनका राष्ट्रपतिले अघि सार्नुभएको बिआरआई (बेल्ट एण्ड रोड इनिसियटिभ) योजनाबाट नेपालले कसरी लाभ लिन सक्छ ?
बिआरआईअन्तर्गत यातायात सञ्जालसँग जोडिँदा नेपालले परियोजना छनोट गरेर आफ्ना प्राथमिकताहरु तयार ग¥यो भने चीनको सदाशयता रहन्छ । यातायात सञ्जालसँग जोडिँदा नेपालको औद्योगिक व्यापार विस्तार गर्ने त छँदैछ, तत्कालका लागि पर्यटक नेपालमा भित्र्याउन ठूलो सहयोग पुग्छ । ल्हासामा ९० लाखभन्दा बढी पर्यटक आउने गरेका छन् । त्यसको ३० देखि २० प्रतिशत मात्रै पनि पर्यटक नेपालमा आए आर्थिक विकासमा ठूलो मद्दत पुग्छ । यद्यपि विरोधका तर्क नभएका होइनन् । देश ऋणको पासोमा पर्छ । नेपालको औकात छैन, धान्न पनि सक्दैन यो जरुरी छैन भन्ने तर्क छन् तर नबिर्सने तथ्य के छ भने कोदारी राजमार्ग बन्ने बेलामा पनि यस्तै तर्क आएका थिए । कोदारी राजमार्गले नेपाललाई कति लाभ मिल्यो भन्ने तथ्यलाई हेर्दा आगामी दिनमा जोडिने रेल्वेले पनि नेपालको लागि कति लाभ हुन्छ प्रष्ट छ । नेपालको ऋण मात्र १४ प्रतिशत छ । त्यो भनेको धेरै होइन । नेपालले सस्तोमा ऋण लिएर दीर्घकालसम्म राम्रो हुने विकास गर्दा हुन्छ ।

४.बिआरआईमा नेपालको प्रतिबद्धता र तयारी कत्तिको सन्तोषजनक छ ?
चीन र भारत दुई ठूला आर्थिक विकास भएका मुलुकले नेपालका लागि पनि सहयोग गर्नुपर्ने दायित्व हो । नेपालको नीति नै कसैसँग शत्रुता नचाहने, सबैसँग मित्रता गर्ने छ । त्यहीअनुरुप छिमेकी मुलुकबाट लाभ लिनुपर्छ तर बिआरआईमा नेपालको तर्फबाट जति तदारुकताका साथ तयारी गर्नुपर्ने हो त्यो हुन सकेको छैन ।

५.राष्ट्रपति सीको भ्रमणले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन कत्तिको सहयोग पुग्ला ?
चीनका राष्ट्रपति नेपाल नआएको २३ वर्ष भयो । नेपालबाट चीनको भ्रमण भने नियमित हुँदै आएको छ । नेपालमा राजनीतिक अस्थिरता भएका कारणले चिनियाँ उच्चस्तरीय भ्रमण नेपालमा नभएको होला । सन् १९८०÷९० को दशकमा हेर्दा चिनियाँ भ्रमण नेपालमा निकै बाक्लो देखिन्छ । नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको छ । भ्रमणबाट नेपाल–चीन सहयोगको क्षेत्र किटान गर्न जरुरी छ । बिआरआईअन्तर्गत नेपालले नौ वटा परियोजनामा प्रस्ताव गरेको छ । ती परियोजनाहरु केरुङ–काठमाडौँ रेल्वे, विज्ञान प्रविधिलगायतबाट पूर्वाधार विकासमा सहयोग पुग्नेछ । नेपालमा चिनियाँ पूँजी लगानी बढ्न जरुरी छ । नेपालको स्रोतसाधनलाई प्रयोग गर्ने गरी काम गरिएमा दुवै पक्षलाई लाभ मिल्ने देखिन्छ । नेपालले आधारभूमि दरिलो, भरपर्दो र दिगो हुने गरी काम गर्नुपर्छ । अनि मात्र नेपाल अल्पविकासबाट माथि उठ्न सक्छ । चीन आफैँ पनि बाह्य सहयोगबेगर अहिलेको अवस्थामा आएको होइन । नेपालमा पूँजीको अभाव छ । त्यसमा सहयोगको अपेक्षा गर्नु स्वाभाविक हो ।

६. नेपाल–चीन सम्बन्ध सुदृढ गर्न के के गर्नुपर्छ ?
चीनको विरुद्धमा नेपाली भूमि र आकाश प्रयोग हुनुभएन । एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नै हो । हामीले एक चीन नीतिको पालना गरेमा नेपाल–चीन सम्बन्ध सुदृढ भएर जान्छ ।

७. तपाइँ चीनमा राजदूत भएर बस्नुहँुदा के के काम भयो ?
राजदूत भएर मुलुकको हित हुने कुरा चिनियाँ नेतृत्वसम्म पु¥याउने काम गरेँ । साथै जनस्तरको सम्बन्ध, राजनीतिक सम्बन्ध पनि विस्तार भएको छ । आर्थिक विकासका लागि पर्यटक भित्र्याउने बलियो आधारशिला मेरो कार्यकालमा बन्यो भन्ने मलाई लाग्छ ।
 

८. अन्त्यमा भन्नैपर्ने केही छ कि ?
चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । यसबाट बढीभन्दा बढी लाभ लिनका लागि देशभित्र पनि सबै शक्तिको भावनालाई समेटेर नेपालको राष्ट्रिय प्राथमिकताका कुराहरु राख्ने यो एक सुवर्ण अवसर हो भन्ने लाग्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -