स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

भरतपुर अस्पताललाई डेङ्गु परीक्षणका लागि एक हजार किट प्रदान

डेंगू - डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण - Dengue virus - The Time of Nepal
सेयर गर्नुहोस

चितवन, २६ भदौ : भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई आज एक हजार डेङ्गु परीक्षण किट हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई किट हस्तान्तरण गर्नुभएको हो ।

जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि किट अभाव देखिएसँगै अस्पताललाई महानगरले किट हस्तान्तरण गरेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता पाँच हजार ३१ जनाको परीक्षण गरिएकोमा एक हजार ५८५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये एक हजार ३१७ जना चितवनका रहेका छन् । तीमध्ये भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै एक हजार १८४ जना रहेका छन् । डेङ्गुकै कारण यस अवधिमा दुई जनाको मृत्यु भइसकेको छ ।

किट हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख दाहालले डेङ्गु नियन्त्रणको काम एक्लो प्रयासले सफल नहुने बताउनुभयो । अहिले महानगरको शहरी क्षेत्रमा बढी सङ्क्रमण देखिएको बताउँदै उहाँले यसका लागि सबै एक हुन आवश्यक रहेको बताउनुभयो । डेङ्गुको सङ्क्रमण बढ्न लागेपछि महानगर आफ्नो क्षेत्रभित्र पर्ने हरेक विद्यालयमा यस विषयमा जनचेतनामूलक कार्यक्रमहरु शुरु गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा भरतपुर अस्पतालका प्रमुख डा तिवारीले अहिले अस्पतालमा दैनिक २०० देखि ३०० जनाको डेङ्गु परीक्षण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । बिरामीको चाप बढेअनुसारको सेवा दिनका लागि अस्पतालमा समय समयमा हुने किट अभावले समस्या पर्ने गरेको उहाँको भनाइ थियो ।

अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले डेङ्गुको सङ्क्रमण रोक्न गरिने ‘स्प्रे’ खासै प्रभावकारी नहुने भन्दै ‘लार्भा खोज र नष्ट गर अभियान’ नै प्रभावकारी हुने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -