स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

नेपाली सेना जनतासँग एकाकार छ : कावा प्रधानमन्त्री

सेयर गर्नुहोस

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले दिएको जिम्मेवारी तोकिएको समयभित्रै पूरा गरेको भन्दै नेपाली सेनाको प्रशंसा गर्नुभएको छ ।

बारा तथा पर्साका केही स्थानमा गत चैत १७ गते आएको ‘टर्नोडो’बाट प्रभावित जनतालाई आवास हस्तान्तरण गर्न यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली सेनाले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको रक्षा गर्दै विपद्का समयमा जनताले भरोसा गर्नसक्ने संस्थाका रुपमा आफूलाई उभ्याउन सफल भएको बताउनुभयो ।

“राष्ट्रिय सुरक्षा मात्र होइन, नेपाली सेनाले जनतासँग एकाकार र समर्पित भएर भूमिका खेल्दै आएको छ”, उहाँले भन्नुभयो, “राज्यको महत्वपूर्ण अङ्गका रुपमा पूर्वदेखि पश्चिमसम्म भरोसा गर्न सक्ने विश्वास दिलाएको छ ।”

स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित जनतालाई घर हस्तान्तरण गर्न लागिएका बारेमा आफूसँग टेलिफोनमार्फत चासो व्यक्त गर्नुभएको सुनाउँदै कावा प्रधानमन्त्री पोखरेलले सो क्रममा प्रधानमन्त्रीले आवास निर्माण सम्पन्न भएकामा सबैलाई बधाई ज्ञापन गर्नुभएको जानकारी दिनुभयो ।

मुलुक राजनीतिक स्थिरतासँगै अगाडि बढेको उल्लेख गर्दैैै उहाँले वर्तमान सरकार जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने ढङ्गबाट लागिपरेको बताउनुभयो । “सरकार जनताका सामु गरिएको प्रतिबद्धता पूरा गर्न लागिपरेको छ । यसमा सबैको सहयोग आवश्यक छ”, पोखरेलले भन्नुभयो, “सरकार जनताको हितमा रहिरहनेछ, जो जुन ठाउँमा छौँ, जनताको पक्षमा भूमिका खेलौँ ।”

सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मितव्ययीता अपनाएर छोटो समयमा घर निर्माण गरी नेपाली सेनाले उदाहरणीय काम गरेको उल्लेख गर्दै जुनसुकै विषम परिस्थितिमा पनि नेपाली जनताको साथ दिने सेनाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्दै विपद्को समयमा जनतालाई साथ सहयोग गर्न प्रतिबद्ध रहिरहने बताउनुभयो । प्रतिकूल मौसमका बाबजुद पनि सेनाले तोकिएको समयमै आवास निर्माण सम्पन्न गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सरकारले तोकेको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभयो ।

८६९ घर हस्तान्तरण

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत सेनाले निर्माण गरेको आवास हस्तान्तरण प्रमाणपत्र बारा र पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई प्रदान गर्नुभएको थियो । विविध चुनौतीका बाबजुद सेनाले चार महीनाको अवधिमा ८६९ आवास निर्माण सन्पन्न गरेको हो ।

सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो ।

मूल्य अभिवृद्धिकरसहित प्रतिघर चार लाख ८४ हजार ८८८ रुपैयाँ ६० पैसाको लागतमा आवास निर्माण गरिएको हो । आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो । उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालित भएका थिए ।

उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकामा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगन गर्नुपरेको थियो । बाढी तथा डुबानका कारण नौ दिन निर्माणको काम बन्द गर्नुपरेको सेनाले जनाएको छ ।

नेपाली सेनाले ८६९ वटा घर निर्माण गर्न कूल विनियोजित रकमको ५३ दशमलव ८३ प्रतिशत अर्थात् ६७ करोड ९३ लाख १७ हजार ४८३ रुपैयाँ खर्च गरेको छ । सेनाले घर निर्माण गर्दा प्रतिघर ११ दशमलव १९ प्रतिशत रकम बचत गरेको छ । दुई वटा कोठा, सानो भन्छाकोठा, बरण्डा र एउटा शौचालय भएको सो घरको क्षेत्रफल ३४८.६ वर्गफिट रहेको छ । हावाहुरी थेग्ने, भूकम्परहित, वातावरण अनुकूलको भवन निर्माण गरिएको सेनाले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -