स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

पाका लेखक गुरागाईंको ‘ती दिनहरु’ विमोचित

सेयर गर्नुहोस

पाका लेखक भीमप्रसाद गुरागाईंको संस्मरणात्मक कृति ‘ती दिनहरु’को आज यहाँ विमोचन गरियो । यहाँ आयोजित कार्यक्रममा लेखक पत्नी पुण्यवता गुरागार्इंलगायत उपस्थित अतिथिले पुस्तकको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले संयोगले चिनजान भएका गुरागाईंले पूर्वीपहाडी जीवनको झल्को दिने गरी प्रस्तुत पुस्तकमा आफ्ना पुराना दिनको अनुभव लेख्नुभएको बताउनुभयो । आफूले भोजपुरको भ्रमण गर्दा त्यहाँ विभिन्न जातजाति आपसमा मिलेर काम गर्ने गरेको पाएको अनुभव पनि उहाँले सुनाउनुभयो ।

पुराना दिनका टिपोट गर्नाले भविष्यमा त्यही इतिहास बन्ने बताउँदै उहाँले सबैलाई दैनिकी लेख्न आग्रह पनि गर्नुभयो । बुबाको मुख हेर्ने दिन छोराहरुले बुबाको पुस्तक पाठकसामु ल्याइदिनु राम्रो उपहार भएको पनि उहाँले बताउनुभयो । साहित्यकार नारायण ढकालले गुरागाईंले लेख्नुभएको पुस्तक पूर्व ४ नं का बाहुनको इतिहास पनि भएको बताउँदै पुस्तक पूर्वी पहाडको इतिहास झल्काउने खालको महत्वपूर्ण कृति सावित हुने बताउनुभयो । उहाँले आफूले एक महत्वपूर्ण अंश पुस्तकमा थप्न लगाएको पनि बताउनुभयो ।

लेखक बिरामी हँुदा उपचार गरी निको पार्नुभएका चिकित्सक डा वसन्त पन्तले पुस्तक पढ्दा हामीले गरेका कामले पनि इतिहास बनाउँदो रहेछ भन्ने लागेको बताउनुभयो । “हामी जनताका लागि पाहुनाजस्ता मात्रै हुन्छौँ तर पनि महत्वपूर्ण हुनेरहेछौँ”, उहाँले भन्नुभयो । पुस्तकबाट आफूलाई पनि आफ्ना पिताको बचपनबारे लेखाउने प्रेरणा मिलेको उहाँको भनाइ थियो ।

अर्का वक्ता डा सरोज धितालले किताब निकै मेहनत गरेर लेखिएको र साँच्चै अद्भूत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकमा त्यो बेलाको संस्कृति, अर्थव्यवस्था, जीवन, कठिनाइ, सपना, कल्पना आदि सबै आएका छन् ।” पुस्तक पढ्दा त्यो बेलाभन्दा अहिले धेरै फरक आएको रहेछ र जीवन धेरै सहज भएको रहेछ भन्ने ज्ञात भएको उहाँले बताउनुभयो ।

लेखकका छोरा वरिष्ठ पत्रकार गोपाल गुरागाईंले आफ्ना पिताको अनुभव महत्वपूर्ण हुने अपेक्षाले उहाँलाई पुस्तक लेख्न आफूहरुले सहयोग गरेको बताउनुभयो । यी अनुभवमा आमाको पनि योगदान रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो एक साधारण मान्छेको अनुभव हो, यसबाट समाजको कथा भन्नुथियो त्यो प्रयत्न गरिएको हो ।”

पुस्तकका लेखक भोजपुर भुल्केका गुरागाईंले आफूले लेख्न नजानेको तर ठूलो छोराको मद्दत र छोराहरुकै प्रोत्साहनले आफूले भोगेका, देखेका राम्रा पनि र नराम्रा पनि घटनाको अनुभव लेख्दा किताबको सिर्जना भएको बताउनुभयो । “यसमा सुखदुःख उकाली ओरालीको अनुभव छ र यो एउटा दन्त्य कथा मात्रै हो”, उहाँले भन्नुभयो ।

लेखकका पुत्र तथा पत्रकार विनय गुरागाइँर्ले पिताको पुस्तकमा पूर्वी पहाडको जीवन लेखिएको बताउनुभयो । हाल ८८ वर्षीय गुरागाईंको अनुभवलाई लेखनमा उतार्न पत्रकार प्रभाकर गौतमले सहयोग गर्नुभएको थियो । पुस्तकमा लेखकका अनुभवलाई ‘बालापनका झझल्काहरु’, ‘मातापिता र पूर्खा’, ‘यात्रा रहेछ जिन्दगी’, ‘गोरु बेचेर नेपाल भ्रमण’, ‘सुन्तला टिप्न दार्जीलिङ’, ‘हिँडेको कलकत्ता पुगियो आसाम’ आदि शीर्षकमा प्रस्तुत गरिएको छ । कूल २३५ पृष्ठको सो पुस्तक बुलबुल प्रकाशन, डिल्लीबजारले प्रकाशन गरेको हो । यसको मूल्य रु ३०० राखिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -