स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

सेयर गर्नुहोस

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मुलुकको समृद्धिको जग बसालिसकेको र यसको परिणाम केही समयमै देखिने बताउनुभएको छ । राजनीतिक अधिकारप्राप्तिको लडाईं पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकास रहेको भन्दै मन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रलाई बलियो बनाएर उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिलाई साकार पारिनेसमेत बताउनुभयो ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा रेडियो शीतगङ्गा तथा खुला तीज गीत प्रतियोगितामा आज उहाँले सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिल्यै नगर्ने बताउनुभयो ।

सरकारले विकास गरेन भनेर भन्ने दूरप्रचार भइरहेको बताउँदै उहाँले सरकारले गरेका कामलाई राम्रोसँग नियाल्न आग्रह गर्नुभयो । सरकार अब खरोरुपमा उत्रने बताउँदै उहाँले निर्वाचनमा सरकारले गरेका कामको मूल्याङ्कन जनताले नै गर्ने र जनताको परीक्षामा उत्तीर्ण भएरै छाड्ने बताउनुभयो ।

कसैले गलत प्रचार गरेर सरकारलाई कुनै प्रवाह नहुने बताउँदै उहाँले सरकारले समृद्धिका आधार तय गरिसकेको र तिनलाई साकार पार्न निजी र सहकारी क्षेत्रसँग पनि सहकार्य गर्नेगरी योजना बनाइरहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सातदशक लामो सङ्कल्पलाई यही सरकारले साकार पार्ने गरी काम गरिरहेको र विरोधीले भ्रम सिर्जना गरेको जस्तो सुतेर नबसेको प्रष्ट पार्नुभयो । उहाँले मुलुकको आर्थिक विकासको क्षेत्रमा सरकारले गरेको कामले उल्लेख्य उपलब्धि हासिल गरेर मुलुकको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हासिल गरेको र आगामी वर्ष आर्थिक वृद्धिदरलाई ८.५ प्रतिशतसम्म पु¥याउने लक्ष्य लिएर काम गरिरहेको बताउनुभयो ।

जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहको बताउँदै उहाँले गरीबी र समाजमा ब्याप्त कुरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताउनुभयो । विकास निर्माणका कामलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उहाँले विकासका काममा कुनै पनि प्रकारको राजनीति नहुने प्रष्ट पार्नुभयो । नेकपाले जनादेशको उच्च सम्मान गर्ने उल्लेख गर्दै उहाँले कुनै पनि बहनामा धोका नदिइने र जनचाहनाअनुरुपकै काम अगाडि बढाइने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले आमसञ्चारका माध्यम र पत्रकारिता क्षेत्रलाई अझ जवाफदेही, जिम्मेवार र पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले प्रस्ताव गरेको विधेयकले आमसञ्चारलाई नै बलियो बनाउ ल्याइएको बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रामक खबर छाप्ने, पूर्वाग्रह राख्ने, असत्य मात्रै लेख्ने र त्यही असत्यलाई पुष्टि गर्न कैयन झुठ बोल्ने र लेख्ने पनि छन् । यस्तै गलत काम गर्नेलाई जवाफदेही बनाउनका लागि नै विधेयक ल्याउन लागिएको हो ।”

अर्घाखाँचीमा एक वर्षमा फोर जी सेवा विस्तार गर्ने बताउँदै उहाँले नेपालकै सबैभन्दा ठूलो नगरपालिका शीतगङ्गा नगरपालिकामा नेपाल टेलिकमको ल्याण्ड लाइन सेवा विस्तार गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नजीर मियाँ, प्रदेश सांसद चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, नेकपा जिल्ला सहइञ्चार्ज सुशीला श्रीपाली, सचिव ठाकुरकुमार विक, नेपाली काङ्ग्रेसका जिल्ला सचिव छविलाल पौडेल, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष भरत केसी लगायतले मन्तब्य राख्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -