केही वर्षअघि मिलमा तोरी पेल्न मानिसको घुँइचो लाग्थ्यो । तोरी पेल्ने कामदारलाई भ्याइनभ्याइ हुन्थ्यो । टाढाटाढाबाट आउने कतिपय मानिस त दुई दिनसम्म पालो कुरेर तोरी पेलेर लैजानपथ्र्यो तर अहिले एकादेशको कथा जस्तो भएको छ ।
ग्राहकको सेवा गर्ने र परिवार पाल्ने खर्च जुटाउन पनि धौधौ हुने गरेको छ । यो पीडा तनहुँको व्यास नगरपालिका–४ स्थित चन्द्र राइस मिलका सञ्चालक आशकुमार श्रेष्ठको हो ।
पछिल्लो समयमा युवा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेसँगै गाउँमा वृद्धवृद्धा मात्रै रहेका कारण जग्गा जमीनमा तोरीखेती गर्न छाडेपछि मिल नै विस्थापित हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । मैले जान्दा दमौली र आसपास क्षेत्रमा छ वटा तोरी मिल सञ्चालनमा थिए । मिल सञ्चालक श्रेष्ठले भन्नुभयो, “पाँच वटा मिल विस्थापित भइसकेका छन्, अहिले यही एउटा मिल मात्रै जसोतसो सञ्चालन हँुदै आएको छ ।”
आफ्नै घरमा मिल राखिएकाले अहिलेसम्म टिक्न सकिएको हो । उहाँले भन्नुभयो, “भाडामा लिएर मिल सञ्चालन गरिएको भए जमानामा विस्थापित भइसक्ने थियो ।” छिमेकी जिल्ला लम्जुङ जिल्लाका केही भागका मानिस, जिल्लाको भानु, जामुने, मानुङ, छिपछिपे, बैदीलगायतका स्थानबाट मिलमा तोरी पेल्न आउने गरेका छन् ।
विसं २०२९ मा बुबुले स्थापना गरेको उक्त तोरी मिललाई आफूले पनि बाबुको बिँडोलाई धान्दै आएको उहाँले बताउनुभयो । विशेषगरी दशैँ, तिहार, माघेसङ्क्रान्ति र तीजजस्ता चाडपर्वको समयमा दिनमा ३० देखि ४० जना मानिस तोरी पेल्न आउने र अन्य समयमा पाँच÷सात जना हुने गरेका छन् उहाँले भन्नुभयो ।
पहिला मिलमा पाँच÷छ जना कामदार हुन्थे”, उहाँले भन्नुभयो, “अहिले तोरी पेलेर मिलमा राखिएको दुई जना कामदारका परिवार र आफ्नो परिवार पाल्नुबाहेक अन्य उपलब्धि गर्न सकिएको छैन ।” तोरी पेलेको प्रतिकिलो रु आठ लिने गरिएको छ । ग्राहकले पिना पनि लान चाहेमा प्रतिकिलो रु २० शुल्क लिने गरेको उहाँले बताउनुभयो ।
राइस मिल भनेर राखिएकाले शुरुमा धान पनि कुटिन्थ्यो तर अहिले धानखेती गर्न छाडेपछि मानिस धान कुट्न आउन छाडे त्यसपछि धान मिल हटाइयो, मकै कोदो पिस्ने काम भने चलिरहेको छ । “शुरुशुरु कमाएर राखेको पैसाले अहिले छोराछोरीलाई शिक्षादीक्षा प्रदान गर्दै आएको छु”, श्रेष्ठले भन्नुभयो, “दुई छोरा अष्ट्रेलियामा सूचना प्रविधि शिक्षा, एक छोरा न्यूजरल्याण्डमा इञ्जिनीयर र एक छोरी काठमाडौँमा नसिङ विषयमा अध्ययनरत छन् ।”
‘एक घर एक उत्पादन’मा जोड
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ नं वडा कार्यालयले ‘एक घर एक उत्पादन’ कार्यलाई प्राथमिकता दिएको छ । स्थानीयवासीलाई स्वरोजगारतर्फउन्मुख बनाउने उद्देश्यले वडाले एक घर एक उत्पादनअन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो ।
एक घर एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ । मौरीपालन कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीको घार उपलब्ध गराउन लागिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । एक वटा मौरी घार बराबर दुई वटा चिउरीको बिरुवा रोप्नुपर्छ । उहाँले भन्नुभयो, “एक वटा मौरीको घार बराबर मौरीपालनका लागि वडा कार्यालयले आवश्यकपर्ने सामग्री निःशुल्क उपलब्ध गराउनेछ ।”
एक घर, एक टनेलखेतीतर्फ ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल उपलब्ध गराइनेछ । एक प्लाष्टिक टनेल बराबर आवश्यक मल्चिङ प्लाष्टिक र असिना प्रतिरोधात्मक नेट जाली निःशुल्करुपमा वडाले प्रदान गरिनेछ ।
वडा कार्यालयले पाँच वटा माउ बाख्रा पाल्ने कृषकलाई रु ३० हजार, १० वटा माउ बाख्रा पाल्ने कृषकलाई रु ५० हजार र १५ वटा माउ बाख्रा पाल्ने कृषकलाई रु एक लाख अनुदान वितरण गर्ने भएको छ । यसका लागि वडा कार्यालयमा सूचीकृत भएका, व्यावसायिक बाख्रापालनसम्बन्धी तालीम लिइ ज्ञानआर्जन गरेको, मापदण्डअनुरुप सुधारिएको खोर निर्माण गरेको र आवश्यकमात्रामा घाँसखेती गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
बाख्रापालन कृषकलाई माउ बाख्राको सङ्ख्याअनुसार अनुदानको व्यवस्था, बाख्रा बीमाको व्यवस्था, उत्पादित वस्तुको बजारीकरण, आवश्यक परेमा ऋणको व्यवस्था, नियमित तालीम तथा अवलोकन भ्रमणको व्यवस्था गरिएको छ । व्यावसायिक कागती खेती गर्ने कृषकलाई तीन वर्षसम्म प्रति बिरुवा रु १०० अनुदान प्राप्त गर्न सक्नेछन् । वडाध्यक्ष गुरुङले भन्नुभयो, “त्यसका लागि कम्तीमा २५ बिरुवा लगाएको हुनुपर्नेछ ।”