घरैपिच्छे माछापोखरी घरैपिच्छे माछापोखरी



४०

कावासोती नगरपालिका–७ साँढ निवासी यमबहादुर नेपालीका दुई माछापोखरी छन् । उहाँले माछापोखरी बनाउनुभन्दा पहिले धानखेती लगाउँदै आउनुभएको थियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सिमानासँगै जोडिएको खेतमा धान लगाए पनि कहिल्लै पाकेर पूरै काट्न भने पाउनुभएन । वनबाट आउने गैँडा, बदेल, मयुरलगायतले बालीनास गर्न थालेपछि उहाँले विकल्प रोज्नुभयो ‘माछा पोखरी’ ।

वन्यजन्तुले क्षति नपु¥याउने भएकाले उहाँले माछापोखरी निर्माण गुर्नभयो । धान बेचेर मुस्किलले वार्षिक रु ३० हजारसम्म जोगाउने गर्नुभएको उहाँले अहिले माछा बेचेर भने मनग्य आम्दानी गर्न सफल हुुनुभएको छ । “धान लगायो कहिल्लै पाकेर पूरै भित्र्याउन पाइँदैन थियो, मुस्किलले रु ३० हजारसम्म हुन्थ्यो, अहिले माछापोखरी बनाएपछि आम्दानी पनि राम्रो भएको छ”, उहाँले भन्नुभयो, “अहिले माछा बेचेर धान किन्न सजिलो भएको छ ।”



दुई पोखरीबाट वार्षिकरूपमा रु दुई लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । नेपालीजस्तै यहाँ रहेका प्रायः सबैले माछापोखरी निर्माण गरेका छन् । वडा नं ७ र १३ अन्तर्गत पर्ने साँढमा घरैपिच्छे माछापोखरी छन् । वन्यजन्तुले बालीनालीमा क्षति पु¥याउने भएपछि विकल्पका रुपमा यस टोलका सबैजसोले माछापोखरी निर्माण गरेका छन् । नमूना मध्यवर्ती र कृष्णसार मध्यवर्ती वनअन्तर्गत पर्ने यस क्षेत्रमा १३२ माछापोखरी छन् । करीब ६४ घरपरिवारका कसैका एउटा कसैका दुई वटाका दरले माछापोखरी छन् ।

नमूना कृष्णसार माछापालन समूहमा आवद्ध रहेका सबैजसोले व्यक्तिगतरूपमा माछापोखरी निर्माण गरेका छन् । निकुञ्जसँग समन्वय गरी यहाँका सबैजसो घरपरिवारले माछापोखरी निर्माण गरेका हुन् । यस क्षेत्रमा २० जति नयाँ माछापोखरी थप हुने क्रममा रहेका समूहका पूर्वध्यक्षसमेत रहनुभएका नेपालीले बताउनुभयो ।

पानीको राम्रो स्रोत भएकाले माछा राम्रो उत्पादन हुने गरेको स्थानीय मेनबहादुर रानाले बताउनुभयो । यस क्षेत्रका स्थानीयवासीले उत्पादन गरेका माछा स्थानीय बजारमा नै खपत हुने गरेका माछापालक कृषकले बताएका छन् । नारायणी नदी नजिकको क्षेत्र भएकाले यहाँका माछा पनि नारायणीको जस्तो स्वादिलो हुने भएकाले बजारको कुनै समस्या नभएको उनीहरुले बताएका छन् ।

धेरै माछा हुँदा कहिलेकाहीँ पोखरा, काठमाडौँसम्म लैजाने गरेको समूहका अध्यक्ष देवराज सुब्बाले बताउनुभयो । माछापालनबाट यस क्षेत्रका माछापालक कृषकले राम्रो आम्दानी गर्दै आएका छन् । माछापालनबाटै आर्थिकस्तरसमेत सबल हुँदै गएको छ । माछापालनले वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुगेको अध्यक्ष सुब्बाले बताउनुभयो ।

पहिले वन्यजन्तुले बालीनाली खाइदिँदा समस्या हुने गरेकामा अहिले त्यस्तो समस्या नभएको उहाँले बताउनुभयो । माछापालनले निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने नारायणीमा अवैधरुपमा माछा मार्ने क्रमसमेत रोकिएको अध्यक्ष सुब्बाले बताउनुभयो । निकुञ्जले नारायणीमा लाइसेन्स नलिई माछा मार्न रोक लगाउँदै आएको छ । ठूला तिहारी जालको प्रयोग गरी माछा मार्दा गोही परेर मर्ने हुनाले यसमा कडाइ गरिएको छ ।

यस क्षेत्रका स्थानीय माछापालनमा आकर्षित भएसँगै वडाले समेत उनीहरुलाई लक्षित गरी योजना निर्माण गरेको वडा नं १३ का वडाध्यक्ष विनोद रानामगरले बताउनुभयो । माछापालक कृषकलाई अनुदानसहित प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । कावासोती नगरपालिकाले समेत वडा नं ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ । यस क्षेत्रमा माछापालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा आवश्यक सामग्री उपलब्ध गराइँदै आएको वडाध्यक्ष रानामगरले बताउनुभयो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि