चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या

चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या


Honey, bee, माहुरी, मह - the times of nepal

सिस्ने गाउँपालिका वडा नं ३ स्थित ओमप्रकाश खड्काको घरमा १११ वटा माहुरीका घार छन् । शुरुआती चरणमा रहरले एक घारमा माहुरी राख्नुभएका ओमप्रकाश अहिले व्यावसायिक रुपमा माहुरी पाल्न शुरु गरेको छ । यो व्यवसायबाट राम्रो आम्दानी भएको पनि उहाँले बताउनुभयो । तर सोचेजतीको काम गर्न सजिलो त कहाँ छ र ? ओमप्रकाशलाई आजभोलि माहुरीको खाना जुटाउन निकै मुस्किल परेको छ ।

माहुरीका लागि चरण क्षेत्रको अभाव हुँदा माहुरीपालन व्यवसाय अगाडि बढाउन मुस्किल परेको उहाँ बताउनुहुन्छ । वर्षा शुरु भएसँगै लगाताररुपमा पानी पर्न थालेपछि आहारका लागि माहुरी घारबाट बाहिर निस्कन सकेका छैनन् । माहुरीलाई बचाउनका लागि चिनी खुवाइरहेको उहाँले बताउनुभयो ।

Advertisement

त्यसैगरी सोही ठाउँका कमलाल खड्को घरमा पनि ५५ वटा माहुरीका घार छन् । माहुरीको मह बेचेर जीविकोपार्जन गर्दै आउनुभएका कमला पनि माहुरीसँगै रमाउन चाहनुहुन्छ । तर आजभोलि उहाँलाई चाहनाले मात्र नपुग्ने रहेछ भन्ने आभास भइसकेको छ । किनभने उहाँलाई पनि आफूले पालेका माहुरी बचाउन मुस्किल परेको छ । वर्षाको समयमा लगाताररुपमा परिरहने पानीले गर्दा माहुरी आहारा जुटाउन जान नसक्ने भएका कारण चिनी खुवाएर पाल्नुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो । व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसानले यतिबेला माहुरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् ।

वर्षाको समयमा मात्र नभई अहिले त बाह्रै महीना माहुरीलाई चरण क्षेत्रको अभाव भएको स्थानीयवासी बताउँछन् । कतिपय माहुरी पालकले भने प्रविधिको अभावले पनि माहुरीपालनबाट उल्लेख्य आम्दानी लिन सकिरहेका छैनन् । सिस्ने– ३ पोखरामा जिल्लाकै सबैभन्दा बढी मह उत्पादन हुने क्षेत्र हो ।

वर्षाको समयमा पानी पर्ने र अन्य समयमा कृषकले विस्तारै फलफूल खेती गर्न छोडेपछि माहुरीलाई रसको अभाव परेको हो । पछिल्लो चरणमा जिल्लामा तोरीको खेती गर्नेको सङ्ख्या ह्वात्तै घटेपछि माहुरी कृषकलाई समस्या भएको हो । तोरी लगाएर तेल निकाल्ने झण्झट, उत्पादनमा कमी आउनु र जनशक्तिको अभाव लगायतका कारणले तोरीखेती गर्ने किसान घटेका हुन् ।

जथाभावी विभिन्न प्रकारका विषादी प्रयोग गर्नेक्रम बढ्दै जाँदा माहुरी मरेर जाने गरेको सिस्ने गाउँपालिका–५ का अर्का माहुरीपालक पूर्णबहादुर बुढामगरले बताउनुभयो । विगत २० वर्षदेखि २० देखि २५ वटा घारमा माहुरी पाल्दै आउनुभएका बुढाको यतिबेला ११ वटा घारमा मात्र माहुरी जीवित रहेको बताउनुभयो । चरण, प्रविधि अभाव र जथाभावी विषादी प्रयोगका कारण माहुरी मरेर गएको उहाँ बताउनुहुन्छ ।

“किसानले जैविक मल प्रयोग गरेर बाली लगाउने बेलासम्म माहुरीले राम्रो मह लगाउने गरेको थियो”, सिस्ने गाउँपालिका– ३ पोखराका अर्का माहुरीपालक लीलाराम खड्का भन्नुहुन्छ, “जब कृषकले उन्नत प्रजातिका बीउबिजन, रासायनिक मल, अनधिकृत विषादी प्रयोग गर्न थाले माहुरीको जैविक प्रणालीमा गम्भीर असर परेको छ ।” पछिल्लो समय विभिन्न प्रकारका विषादीको बढ्दो प्रयोग, जमीन बाँझो राख्ने लगायतका कारणले माहुरीलाई असर परेको उहाँको भनाइ छ ।

माहुरीलाई रसको अभाव हुन नदिनका लागि चिउरी फँडानीलाई रोक्ने तथा नयाँ बिरुवा रोप्नुपर्ने, पल्टी नामको फूल फुल्ने बिरुवा सबैले घरघरमा रोप्नुपर्ने त्यहाँका स्थानीयले बताएका छन् । पल्टी नामको फूल फुल्ने एउटा बोटले तीन वटा घारको माहुरीलाई पर्याप्तमात्रामा रस दिने स्थानीयवासीले बताएका छन् । माहुरीको पकेट क्षेत्र घोषणा गरिएको सिस्ने गाउँपालिका– ३ का अधिकांश नागरिकले माहुरी पालेका छन् ।

माहुरीपालनका लागि सिस्ने गाउँपालिकाले माहुरी व्यावसायिक, कृषि सहकारी तथा कृषि फर्मलाई अनुदान दिएको छ । गाउँपालिकाले यस वर्षलाई माहुरी प्रवद्र्धन वर्षका रुपमा मनाउने तयारी गरेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । त्यसैगरी यसै वर्षमा गाउँपालिका र ५ नं प्रदेश सरकारले संयुक्तरुपमा माहुरी कृषकलाई अनुदानका लागि रु २५ लाख बजेट छुट्याएको पनि उहाँले जानकारी दिनुभयो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?