स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

डेङ्गु नियन्त्रण गर्न अभियान

सेयर गर्नुहोस

प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गएको वैशाखदेखि सुनसरीको धरानमा देखिएको डेङ्गुले प्रदेशभरिमा तीन हजार १५२ जना प्रभावित भएको बताउनुभएको छ ।

प्रदेशसभाको बैठकमा विभिन्न सदस्यले उठाएको प्रश्नको जवाफको क्रममा आज उहाँले सो जानकारी दिनुभएको हो । उहाँले डेङ्गु सुनसरीको धरानबाट फैलिँदै अन्य जिल्लामा विस्तार भएको र सुनसरीमा सबै भन्दा बढी तीन हजार २५ बिरामी रहेको बताउनुभयो ।

मन्त्री घिमिरेले डेङ्गुको नियन्त्रण सरकारले मात्र नभई आम नागरिक नै लाग्नुपर्ने भन्दै नियन्त्रणका लागि विद्यालयका किशोर र किशोरीलाई अभियन्ताको रुपमा प्रयोग गरी सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले मोरङको बैजनाथपुर रङ्गशाला निर्माणमा भएको भनिएको भ्रष्टाचारको सम्बन्धमा प्रदेश सरकारले रु ४३ लाख मात्र विनियोजन गरेको भन्दै विनियोजित रकममा रु २६ लाख मात्रको काम भएकोले भ्रष्टाचार नभएको प्रतिक्रिया दिनुभयो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ ।

छलफलमा प्रदेशसभासदस्य इन्दिरा राई, उमिता विश्वकर्मा, केदार कार्की, झलकबहादुर मगर, तुलसीप्रसाद न्यौपाने, राजेन्द्रकुमार राई, राधा थापा, विजयकुमार विश्वास, विमल कार्की र शान्ता पौडेलले आदर्श पुरुष स्वर्गीय मनमोहन अधिकारीको नाममा स्थापना हुने विश्व विद्यालयको विधेयकलाई समृद्ध र विवादरहित बनाउनुपर्छ भन्नुभयो ।

उहाँहरुले विश्वविद्यालय स्थापना गर्दा भोलि आउने कानूनी, नीतिगत र प्राविधिक समस्यालाई समाधान गर्न अहिले नै विधेयकमा गहन छलफल हुनुपर्ने भन्दै यसमा परिमार्जन हुनु आवश्यक छ भन्नुभयो ।

शून्य समयमा सदस्य राजन राईले खोटाङ टिक्तेल नगरपालिका –१ निवासी टङ्कप्रसाद आचार्यले सहभोज खाएकै बहानामा उहाँलाई अघोषित सामाजिक वहिष्कार गरेकोमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य सूयर्माराज राईले सवारी चालक अनुमतिपत्रमा देखिएको अनियमिततालाई रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक आगामी भदौ १ गते दिउँसो १ बजे बस्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -