स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

प्रदेशस्तरीय विश्वविद्यालय बनाउने : मन्त्री घिमिरे

सेयर गर्नुहोस

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन पोलिटेक्निक इन्स्टिच्युट प्रदेशस्तरीय मनमोहन प्राविधिक विश्वविद्यालय बनाउने बताउनुभएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ आज सदनमा प्रस्तुत गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

मन्त्री घिमिरेले मुलुकको विभिन्न विश्वविद्यालयको स्वरुप र ढाँचाभन्दा पृथक रहने मनमोहन प्राविधिक विद्यालयले प्राविधिक जनशक्ति उत्पादन गर्ने धारणा राख्दै यो विश्वविद्यालय समुदायसँग पनि जोडिने बताउनुभयो । मन्त्री घिमिरेले नेपालको ख्यातिप्राप्त, भौतिक संरचना र मानवीय संशाधनका रुपमा अर्बौं सम्पत्ति रहेको यो संस्थासँग प्रदेश सरकारले साझेदारी अवधारणाबाट सञ्चालन गर्ने स्पष्ट पार्नुभयो । उहाँले आधारभूत, माध्यमिक र उच्च तहका प्राविधिक जनशक्ति उत्पादन हुने यो विश्वविद्यालयलाई नयाँ नमूनाका साथ सञ्चालनमा ल्याउने हिसाबले यो विधेयक ल्याएको जानकारी दिनुभयो ।

सैद्धान्तिक छलफल

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि आजदेखि सैद्धान्तिक छलफल शुरु भयो । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले रोजगारी सिर्जना गर्ने, आर्थिक विकास गर्ने, निर्यात बढाउने र आयातलाई कम गर्न मद्दत गर्ने यो विधेयक पारदर्शिता झल्किने किसिमको हुनुपर्छ भन्नुभयो ।

सदस्य विमल कार्कीले यो विधेयकमा भएको व्यवस्थाहरु राम्रो भए पनि यसलाई अझ राम्रो बनाउन परिमार्जन गर्नुपर्छ भन्नुभयो । सदस्य मोहनकुमार खड्काले उत्पादन र लगानीसँग सम्बन्धित यो विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमा लगेर दफावार छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशको आर्थिक विकासमा प्रत्यक्ष सम्बन्ध राख्ने यो विधेयकबाट प्राधिकरण हटाउनुपर्ने सुझाव दिनुभयो । सदस्य सावित्री जोशीले यो विधेयकबाट प्रदेशको आम्दानीहरु बढाउन मद्दत गर्ने धारणा राख्नुभयो ।

शून्य समय

सदस्य श्रीप्रसाद मैनालीले राजश्वमा महत्वपूण भूमिका खेलिरहेको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन विधेयक आउनुपर्ने धारणा राख्नुभयो । सदस्य जयराम यादवले आज विश्व आदिवासी दिवस भएकाले सबैलाई शुभकामना दिँदै प्रदेशका मन्त्रीहरु विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।

सदस्य नवोदिताकुमारी चौधरीले मोरङको बैजनाथपुर रङ्गशालामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने माग गर्नुभयो । सदस्य प्रतापप्रकाश हाङगामले प्रदेशका विषयगत सभापतिहरु रु ६० लाखभन्दा बढीको सवारी साधन प्रयोग गर्ने र सभासद्हरु पैदल हिँडनुपर्ने यो कस्तो सामाजिक न्याय हो सभामुखसँग प्रश्न गर्नुभयो । प्रदेशसभाको अर्को बैठक साउन २६ गते दिउँसो १ बजे बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -