स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं २ : प्रदेशसभा बैठकद्वारा लोकसेवा विधेयक पारित

सेयर गर्नुहोस

प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकबाट लोकसेवा विधेयक पारित भएको छ । प्रदेश नं २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।

बैठकमा टेबल भएको झण्डै अढाइ महीनापछि प्रदेश लोकसेवा विधेयक पारित भएको हो । यो विधेयक गत जेठ १२ गते प्रदेशसभा बैठकमा टेबल भएको थियो भने आज बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित भएको घोषणा गरिएको छ ।

यो विधेयक पारित भएसँगै अब प्रदेश नं २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्धान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो ।

सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव, गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताए । समितिका संयोजकको जिम्मेवारी पाएका परमेश्वर साहले पटकपटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताउनुभयो ।

आजको प्रदेशसभा बैठकमा उहाँले साउनमा मात्रै पाँच पटक बैठक बसेको र आज बसेको समिति बैठकले पारित गर्ने निर्णय गरेको बताउनुभयो ।

यसैबीच सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गर्नुभएको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ माथि पनि आज सैद्धान्तिक छलफल भएको छ ।

छलफलमा भाग लिँदै नेकपाका सांसद गोविन्द न्यौपाने र काङ्ग्रेसका सांसद शिवचन्द्र चौधरीले यो विधेयकलाई धेरै ठाउँमा सच्याउनु जरुरी रहेको बताउनुभयो । मन्त्री साहले सीप नसिकी हजारौँ युवा विदेश गइरहेकाले प्राविधिक शिक्षा स्थापना गरेर उनीहरुलाई विभिन्न किसिमको तालीम दिन र आफैँ रोजगारी गर्ने किसिमको प्राविधिक अध्ययनका निम्ति यो विधेयक अपरिहार्य भएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -