लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञानः मन्त्री बाँस्कोटा लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञानः मन्त्री बाँस्कोटा



५६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रमाथि सङ्कट आएको बेकारको भूत खडाप्रति बहकिन नहुने बताउनुभयो ।



मन्त्री बाँस्कोटाले लोकतन्त्रमाथि कसैले पनि धावा नबोलेको उल्लेख गर्दै लोकतन्त्रमाथि सङ्कट आएको चर्चा भ्रम छर्ने दुष्प्रयास हो भन्नुभयो ।

एक प्रश्नका जवाफमा उहाँले संविधानको संशोधन बेला, समय र आवश्यकता पुष्टि भएपछि गर्न सकिने स्पष्ट पार्दै सरकारले मिडिया विरोधी कुनै पनि कार्य नगरेको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई विश्वसनीय बनाउन नियमनको अवधारणा अघि सारेको र नियमनका क्रममा तानाशाही नभई लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गरिनेछ भन्नुभयो ।

उहाँले मिडिया काउन्सिल विधेयक अवश्य आउँछ भन्दै भ्रमको खेती गरी अब नेपाली पत्रकारिताले फड्को मार्न नसक्ने स्थितिको बोध सबैले गर्नु जरुरी भएकातर्फ ध्यानाकर्षण गराउनुभयो ।

सरकार पत्रकारको हितका लागि सधैँ अग्रसर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पुरानो तरिकाले पत्रकारिता मौलाउन सक्दैन, पत्रकारले आफँै सुधार गर्नुपर्दछ ।”

मन्त्री बाँस्कोटाले सङ्घीय सरकारले प्रदेश नं २ सँग पक्षपात नगरी न्यायप्रणालीको शुरुआत गरेको उल्लेख गर्दै सिङ्गो तराईको विकासका लागि बृहत् विकासका परियोजना कार्यान्वयन गरेको स्पष्ट गर्नुभयो ।

हिँड्दै जाने पाइला मेटिँदै जाने प्रवृत्तिबाट मुक्तिको आवश्यकतामा जोड दिँदै उहाँले राजनीतिको रोटी सेक्ने दिन गयो, अब जनतामाझ गरिएको वाचालाई साकार पार्न अग्रसर हुनुपर्दछ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब जनताको निगरानीमा सरकार सञ्चालन भइरहेका कारण अल्झिने र अल्झाउने कसैलाई पनि छुट छैन, उपलब्धिलाई उपलब्धिका रूपमा ग्रहण गर्नुपर्दछ ।”

उहाँले नेपालको मिडियाले अब राजनीति मात्र लेख्ने होइन, विकास निर्माणको अनुगमनतर्फ पनि लेखन गरी सहीको वकालत र गलतलाई उजागर गर्नु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रमा निराशा होइन, उत्साहको सिर्जना हुने खोजमूलक पत्रकारिता आजको आवश्यकता हो भन्दै मन्त्री बाँस्कोटाले अब विकास, प्रगति र अग्रगति राष्ट्रिय एजेण्डालाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

मन्त्री बाँस्कोटाले मिडियाले सरकारको योजना र जनताको चाहनाबीचको अवरोधलाई उजागर गरी गतिशील र तीव्रता दिने वातावरण निर्माणमा टेवा पु¥याउनु जरुरी भएको बताउनुभयो । उहाँले चुरेको डरलाग्दो दोहन रोक्न सङ्घ र प्रदेश सरकारको प्रयास आवश्यक रहेको धारणा पनि राख्नुभयो ।

पत्रकार सम्मेलन शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको थियो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि