स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

आँखा परीक्षणबाट ६६३ विद्यार्थी लाभान्वित

health news - eye check up ,trending news, hot news, latest news
सेयर गर्नुहोस

रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले जानकारी दिनुभयो ।
मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । क्लबको वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा तेस्रोपटक आँखा शिविर सञ्चालन गरिएको शर्माले बताउनुभयो ।
आँखा जाँच कार्यक्रममा ४१ विद्यार्थीको आँखामा सामान्य समस्या देखिएको र दुई जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । “आँखामा समस्या देखिएका विद्यार्थीलाई शल्यक्रियासहित आवश्यक पर्ने सबै खर्च क्लब र मनिपाल अस्पतालले व्यहोर्नेछ”, शर्माले भन्नुभयो । सो अवसरमा आँखामा समस्या देखिएका विद्यार्थीलाई निःशुल्क औषधि प्रदान गरिएको क्लबले जनाएको छ ।

विद्यार्थीले बनाए शैक्षिक सामग्री

तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित परासर आधारभूत विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री बनाएर प्रदर्शन गरेका छन् । विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षा ४ देखि ८ सम्मका ४९ छात्रछात्राले स्थानीय कच्चा पदार्थबाट विभिन्न प्रकारका शैक्षिक, सजावट, पेशा व्यवसाय, विज्ञान र परम्परागत स्थानीय प्रविधिसम्बन्धी सामग्री निर्माण गरी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा कक्षा ७ का आदित्य पौडेल प्रथम हुनुभएको छ । उहाँले एटिएम मेसिन बनाउनुभएको थियो । गुड्ने कार बनाउनुभएका कक्षा ८ का मनिरा थापा द्वितीय, पङ्खा र घर बनाउनुभएका कक्षा ६ का आशिष बोटे र एक्सबो बनाई कक्षा ८ का रोमन थापा तृतीय हुनुभएको छ भने झुमर बनाउनुभएका कक्षा ७ का सङ्गीता थापा र फूलदानी बनाउनुभएका कक्षा ६ का मुना बोटे सान्त्वना पुरस्कार पाउन सफल हुनुभएको छ ।

विद्यार्थीलाई ‘लागुऔषध’ पढाउँदै प्रहरी

क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीबाट बचाउन इलाका प्रहरी कार्यालय भीमादले सचेतना कक्षा शुरु गरेको छ । विद्यालय र क्याम्पस तहमा अध्ययनरत विद्यार्थी बढी मात्रामा लागुऔषध दुव्र्यसनीमा फस्न सक्ने भएकाले प्रहरीले विद्यालयमै पुगेर सचेतना कक्षा शुरु गरेको हो ।

विद्यालय तहका बालबालिका लागुऔषधको बढी जोखिममा रहने हुनाले उनीहरुलाई यसविरुद्ध सचेत गराउन सचेतना कार्यक्रम शुरु गरिएको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । “लागुऔषधको जोखिममा रहने बालबालिकालाई यसबाट बचाउनु सबैको कर्तव्य हो”, प्रनानि रेग्मीले भन्नुभयो, “समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नगर क्षेत्रभित्रका सबै विद्यालयमा यसखाले कार्यक्रम सञ्चालन गर्नेछाँै ।”

अभियानको शुरुआत प्रहरीले भीमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसबाट गरेको छ । सो अवसरमा विद्यालयमा प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई यसबारेमा जागरुक बनाइएको रेग्मीले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -