स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

गृहमन्त्री द्वारा वर्षाका कारण हालसम्म घटेका घटनाको जानकारी

सेयर गर्नुहोस

गृहमन्त्री रामबहादुर थापाले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा उठेका प्रश्नको आज साँझ जवाफ दिँदै उहाँले घर आवासको क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट सङ्कलन गर्ने कार्य भइरहे पनि प्रारम्भिक सूचनाअनुसार हजारौँ घरमा क्षति पुगेको छ भन्नुभयो ।

मनसुनी वर्षा मुलुकभर नै भए पनि बाढी, पहिरो र डुबानबाट गुल्मी, रौतहटलगायत ३५ जिल्ला प्रभावित भएको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री थापाले सम्पूर्ण घाइतेको निःशुल्क उपचार र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाइसकेको बताउनुभयो ।

राहत तथा उद्धारलाई प्रभावकारी तुल्याउन तीनै तहका सरकारसँग मिलेर काम गरिरहेको जानकारी दिँदै गृहमन्त्री थापाले उद्धारका लागि ४१ हजार २०४ भन्दाबढी सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिनुभयो ।

बाढीपहिराको चपेटामा परेका तीन हजार ३३३ जनालाई उद्धार गरिएको पनि उहाँले जानकारी दिनुभयो । गृहमन्त्री थापाले उद्धार र राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, नेपाल रेडक्रस सोसाइटी र स्थानीयवासीको सहयोग रहेको जानकारी दिनुभयो ।

मृत्यु भएका परिवारलाई एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको तथा राजमार्ग अवरुद्ध भए पनि विभिन्न उपायबाट खोजतलास र उद्धारको काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तथा डुबान परिवार पानीको सतह घटेसँगै आ–आफ्नो स्थानमा फर्केनेक्रम जारी रहेको सो अवसरमा जानकारी दिइयो ।

राहत र उद्धारको कार्यलाई प्रभावकारी तुल्याउन सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधन परिचालन गरिएको जानकारी सो अवसरमा दिइयो । प्राकृतिक प्रकोपबाट सिर्जित समस्यालाई कसरी समाधान गर्न विभिन्न उपायको खोजी भइरहे पनि त्यसको कारक भने मानव जाति नै हुन भन्ने ठम्याइ रहेको उहाँले बताउनुभयो ।

ऊर्जासम्बन्धी नीति, विकासका ढाँचाले प्राकृतिक प्रकोप र विपद्का घटनालाई बढाइरहेको बताउँदै गृहमन्त्री थापाले विपद्को समयमा संसद् एकताबद्ध भएको भनी उच्च समान प्रकट गर्नुभयो । प्राकृतिक प्रकोपबाट नेपालमात्र होइन, अन्तरराष्ट्रिय जगत्मा नै समस्या परिरहेको पनि उहाँको भनाइ थियो । विपद्का कारण र दोषबारे व्यापकरुपमा छलफल भई सुझाव, मार्गनिर्देशन र आलोचना भएको विषयलाई सहयोगकैरुपमा सरकारले आत्मसात गरेको पनि गृहमन्त्री थापाले बताउनुभयो ।

यसअघि प्रस्तावमाथि छलफलका क्रममा सत्तारुढ दलका प्रमुख सचेतक देव गुरुङले विपद्को घडीमा सबै एक ढिक्का भएर पीडितको सहयोगका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “विचार र आस्था बेग्लाबेग्लै भए पनि सबै दललाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछु ।”

सांसद चित्रलेखा यादव, राजन केसी, नवराज रावत, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, सुजता परियार, प्रकाश रसाइली स्नेही, गोमा देवकोटा, तेजुलाल चौधरी, कृष्णप्रसाद दाहाल, प्रमिला राई र महेश्वरजंग गहतराजले उक्त प्रस्तावका बारेमा आआफ्ना धारणा राख्नुभएको थियो

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -