विषादीरहित आलु चिप्स उद्योग सञ्चालनमा विषादीरहित आलु चिप्स उद्योग सञ्चालनमा


आलु चिप्स उद्योग
१५

– पेमा लामा
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित घोकेचौरमा मङ्गलबारबाट ‘माता चण्डेश्वरी आलु चिप्स’को उद्योग सञ्चालनमा भएको छ । स्थानीय उद्योगी इच्छाराम दाहालले सञ्चालन गरेको उद्योग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा औजार खरीद गरी सञ्चालनमा ल्याइएको हो ।

“मेसिन मात्रै रु ३५ लाखमा खरीद गरेका छौँ”, उद्योगी दाहालले भन्नुभयो, “त्यसमा आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा रु १५ लाख र बाँकी आफैँले खरीद गरेको छु ।” त्यससँगै अन्य सामग्री खरीद गरी रु ५४ लाख ४७ हजार लागतमा सो उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो ।



चिप्ससँगै आलुको भुजिया र दालमोठसमेत उत्पादन गर्ने गरी अर्को मेसिन थपेर व्यवसायलाई विस्तार गर्न लागिरहेको दाहालले बताउनुभयो । उद्योगबाट १०० किलो आलुबाट २५ किलो चिप्स उत्पादन हुने उहाँको भनाइ छ । उद्योग सञ्चालन भएसँगै त्यसका लागि आवश्यक पर्ने आलु यहीँको प्रयोग हुने भएकाले अब किसानले आलु बिक्री भएन भन्ने चिन्ता गर्नु नपर्ने दाहालले बताउनुभयो ।

उद्योगबाट उत्पादन गरेको चिप्स आफ्नै कर्मचारीबाट बजारमा खुद्रा बिक्री गर्ने गरी तयारी भइरहेको जनाएको छ । वर्षको रु ३६ हजार दिने गरी १० वर्षका लागि आधा रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको सो उद्योगमा सात जनाले काम गर्नेछन् । मङ्गलबारबाट सञ्चालनमा ल्याइएको सो उद्योग आलु सुपरजोन काभ्रेपलाञ्चोकको सञ्चालक समिति अध्यक्ष हरिराम खतिवडाले उद्घाटन गर्नुभएको हो । किसानले नै सञ्चालन गरेको उद्योगलाई ५० प्रतिशत अनुदान औजार खरीदमा सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले त्यससँगै जिल्लामा यस आर्थिक वर्षमा बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकामा गरी दुई रष्टिक स्टोर, भकारो सुधार र एक आलु चिप्स उद्योगमा सहयोग गरेको बताउनुभयो ।

काभ्रेमा उत्पादन भएको आलु विषादीरहित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकले जिल्लामा किसानले उत्पादन गरेको आलु विषादीरहित भएको जनाएको छ ।

आलु सुपरजोन कार्यालयका प्रमुख दीपक पौडेलले हिउँदको समयमा किसानले मण्डनदेउपुर र पाँचखालमा उत्पादन गरेका आलुलाई खेतबाट नै नमूना सङ्कलन गरी काठमाडौँस्थित द्रुत विषादी विश्लेषण केन्द्रमा गरिएको अर्गानो फस्फेट र कार्वामेटको परीक्षण गर्ने क्रममा १० दशमलव ११ प्रतिशत मात्रै पाइएको बताउनुभयो । “३५ प्रतिशतसम्मको आलु खाना मिल्ने हुन्छ, त्यो भन्दा माथि ४५ प्रतिशतसम्मको लागि केही दिन पर्खेर मात्रै खान मिल्ने अवस्था रहेकामा यहाँ उत्पादन भएका आलुमा विषादी नै छैन भन्ने प्रमाण द्रुत विषादी विश्लेषया केन्द्रले गरेको परीक्षणबाट पुष्टि गरेको छ”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

यसअघि काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलु र अन्य तरकारीमा बढी विषादी भएको हल्ला चलाएका कारण उत्पादन गरेको तरकारी बिक्रीमा समस्या उत्पन्न भएको थियो । तर परीक्षणका क्रममा जिल्लामा उत्पादित आलुमा विषादी नभएको देखाएको कार्यालयले जनाएको छ ।


User Avatar
द टाइम्स अफ नेपाल
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि