स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

गण्डकी प्रदेश सरकारविरुद्ध १५ मुद्दा

सेयर गर्नुहोस

सङ्घीयता कार्यान्वयनमा आएयता गण्डकी प्रदेश सरकारविरुद्ध १५ मुद्दा परेका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले आज पोखरामा गरेको साक्षात्कारमा प्रदेश मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरले प्रदेश सरकार गठन भएयता सरकारविरुद्ध १५ मुद्दा परेका र तीमध्ये चार वटा मुद्दा किनारा लागिसकेको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतमा आठ, उच्च अदालत पोखरामा पाँच र उच्च अदालत पोखरा बागलुङ इजलासमा दुई गरी जम्मा १५ मुद्दा परेका हुन् । कर्मचारी समायोजनका बारेमा परेका दुई मुद्दा र बागलुङमा बाटो निर्माणमा उब्जेको विवादसम्बन्धी र फेवातालको मापदण्डसम्बन्धी एक गरी चार मुद्दा किनारा लागेका उहाँले बताउनुभयो ।

संविधानले प्रदेशमा मुख्य न्यायाधिवक्ताको परिकल्पना गरे पनि नियुक्तिपछि शपथग्रहण कोसँग गर्ने भन्ने अन्योलबीच आफूले काम थालेको उहाँको भनाइ थियो । प्रदेश सरकारविरुद्ध परेका मुद्दामा प्रतिरक्षा गर्ने दायित्व रहे पनि मुद्दा अभियोजन गर्ने अधिकार नभएका कारण प्रदेश सरकारले कोही कसैलाई कुनै दण्ड सजाय तोक्न पाउने अधिकार नरहेको उहाँले बताउनुभयो ।

घिमिरेले गण्डकी प्रदेशमा २५ कानून पास भएका, तीन वटा प्रदेशसभामा रहेका र २० वटा मस्यौदा भएका जानकारी दिनुभयो । त्यसैगरी ११ जिल्लामा विभिन्न सरोकारवाला निकायसहित मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकारका बारेमा समेत अनभिज्ञता देखिएकाले यस बारेमा समेत विभिन्न अन्तक्रियात्मक छलफल गरिएको उहाँले बताउनुभयो ।

‘प्रदेशको प्राथमिकतामा खेलकूद’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले रु ४७ करोड बजेट खेल क्षेत्रका लागि छुट्याएको जानकारी दिनुभयो ।

आज यहाँ ‘मुख्यमन्त्री कप’ समापन समारोहमा उहाँले प्रदेश १ का खेलाडीलाई व्यवसायी बनाउन ‘मुख्यमन्त्री कप प्रतियोगिता’ शुरु गरिएको बताउनुभयो । मुख्यमन्त्री राईले धरानलाई खेलकूद गतिविधिमार्फत खेलकूदग्राम बनाइने बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले रु एक करोड बजेट मुख्यमन्त्री कपका लागि छुट्याएर प्रदेशले ऐतिहासिक काम गरेको बताउनुभयो । धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा सैनिक युवा क्लब झापा, बेलबारी युवा क्लब मोरङलाई २–१ गोलले हराउँदै प्रदेश च्याम्पियन बनेको छ । विजेताले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । मोरङका भुषण सुब्बा प्रतियोगिताका उत्कृष्ट खेलाडी भए । उनले रु एक लाख पुरस्कार पाए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -