स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

वन पैदावर बिक्रीबाट १२ करोड

trending news
सेयर गर्नुहोस

डिभिजन वन कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा करीब चार लाख बिरुवा वितरण गरेको छ । जिल्लालाई हरियाली बनाउन र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले चार लाख आठ हजार ७५ बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा कार्यालयको नर्सरी र सवडिभिजन कार्यालयको नर्सरीमा उत्पादित विभिन्न जातका बिरुवा वितरण गरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको सहयोगमा एक लाख २० हजार, प्रदेश सरकारको सहयोगमा एक लाख ३४ हजार ५०० र तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा चार लाख बिरुवा उत्पादन गरिएको थियो ।

डिभिजन वन नर्सरीमा दुई लाख ६३ हजार, सवडिभिजनअन्तर्गत म्याग्देमा ७२ हजार, भिमादमा एक लाख, शुक्लागण्डकीमा ५० हजार, विमलनगरमा ५० हजार, देवघाटमा ५० हजार र भानुमा ५० हजार बिरुवा उत्पादन गरिएको थियो । त्यस्तै निजी नर्सरीमा १७ हजार र सामुदायिक वनमा दुई हजार ५०० सय बिरुवा उत्पादन भएको थियो ।

तनहुँ जलविद्युत् आयोजना निर्माणका क्रममा रुख काट्नुपर्ने भएकाले वातावरण सन्तुलन राख्न बिरुवा उत्पादनका लागि आयोजनाले डिभिजन वनलाई आर्थिक सहयोग गरेको थियो । प्रमुख बरालका अनुसार आयोजना प्रभावित क्षेत्रमा एक रुख काटेबापत २५ रुख रोप्नुपर्ने बाध्यात्मक नियमका कारण बिरुवा उत्पादनका लागि आयोजनाले सहयोग गरेको थियो ।

जनावर पीडितलाई राहत

डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवार तथा पशु धनीलाई राहत वितरण गरेको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका चार बालबालिकाको परिवारलाई जनही रु दश लाखका दरले रु ४० लाख प्रदान गरिएको छ । भालुको आक्रमणबाट घाइते तीन जनालाई उपचार खर्चबापत रु दुई लाख ६९ हजार ७०४ प्रदान गरिएको छ ।

यसैगरी चितुवाको आक्रमणबाट मृत्यु भएका तीन गाईका धनीलाई रु ३० हजार, १२ वटा बाख्राका धनीलाई रु एक लाख, एउटा भेडाका धनीलाई रु १० हजार र एउटा सुँगुरका धनीलाई रु १० हजार राहतस्वरुप प्रदान गरिएको कार्यालयले जनाएको छ ।

वन पैदावर बिक्रीबाट १२ करोड

जिल्लाका विभिन्न सामुदायिक वन समूहले वन पैदावर बिक्रीबाट रु १२ करोड आम्दानी गरेका छन् । आर्थिक वर्ष ०७५÷०७६ मा जिल्लाका सामुदायिक वनले वन पैदावर बिक्रीबाट रु १२ करोड एक लाख २७ हजार ८६७ आम्दानी गरेका हुन् ।

उक्त कार्यालयका प्रमुख बरालका अनुसार एक लाख २४ हजार २१८ क्युफिट काठ बिक्री गरेर सम्बद्ध सामुदायिक वनले उक्त आम्दानी गरेका हुन् । जिल्लामा रहेका ६१७ सामुदायिक वनले ५५ हजार ७४ हेक्टर वन ओगटेको छ । उहाँले वन पैदावर बिक्रीबाट प्राप्त आम्दानी उपभोक्ताले वन विकास र समूहको भौतिक, आर्थिक, सामाजिक विकासका क्षेत्रमा खर्च गरेको जानकारी दिनुभयो ।

सामुदायिक वनबाट बिक्री भएका काठ र दाउराबाट वन पैदावर शुल्कबापत रु दुई करोड नौ लाख ५२ हजार ३५७ राजश्व सङ्कलन भएको छ ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -