स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

खेलमैदान निर्माण

सेयर गर्नुहोस

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाको आरभाङमा करीब रु २३ लाखको लागतमा खेलमैदान निर्माण भएको छ । मङ्गला गाउँपालिका, गतिशील युवा क्लब र सरस्वती आमा समूहको सहकार्यमा खेलमैदान निर्माण भएको हो । जग्गा खरीदसहित खेलमैदान निर्माणमा रु २३ लाख लगानी भएको गतिशील युवा क्लबका सचिव सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

पाँच रोपनी पाँच आना जग्गामा निर्माण भएको खेलमैदान ७५ मिटर लम्बाइ र २५ मिटर चौडाइ छ । भलिबल, बास्केटबल, फुटसल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने सचिव श्रेष्ठले बताउनुभयो । खेलमैदान निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा रु सात लाख विनियोजन गरेको थियो । खेलमैदान बनाउन रु १२ लाखमा जग्गा खरीद गरिएको थियो । जग्गा खरीद गर्न स्थानीय सरस्वती आमा समूहले रु तीन लाख सहयोग गरेको छ ।
क्लबका अध्यक्ष खिमनाथ आचार्यका अनुसार खेलमैदान नहुँदा खेल अभ्यास र खेलकुद प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । गाउँमा सभा, समारोह सञ्चालनका लागिसमेत खुला ठाउँको अभाव थियो ।
सामुदायिक भवन निर्माण

बेनी नगरपालिका– ५ फुर्केसल्लामा आमा र सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक भवन निर्माण गरेका छन् । भगवती आमा समूह र स्यानीखर्क सामुदायिक वन उपभोक्ता समूहले एक वटा सभाहल र दुई कोठे भवन बनाएका हुन् ।
बेनी नगरपालिकाको रु तीन लाख ५० हजार, वन समूहको रु एक लाख ६० हजार र आमा समूहको रु एक लाख ७२ हजार लगानीमा भवन निर्माण गरेको आमा समूहका अध्यक्ष स्यानी खड्काले बताउनुभयो । सो भवनमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनको तयारी भएको छ । मन्त्रालयले उपलब्ध गराएको रु तीन लाख अनुदानबाट भजनकिर्तन र धार्मिक पुस्तकालयका सामग्री खरीद गरेर केन्द्र सञ्चालन गर्न लागिएको स्थानीय मुक्ति खड्काले बताउनुभयो ।
ज्येष्ठ नागरिक भेला भएर भजनकीर्तनको सुबिधाका साथै खाजाको समेत व्यवस्था गर्ने योजना छ । सामुदायिक भवन बनेपछि भेला, बैठक, गोष्ठी, तालीम सञ्चालनका साथै बिवाह, व्रतबन्धको भोजका लागिसमेत सहज भएको छ । यो भवनबाट फुर्केसल्ला, कुडुले, कुमाल्नीका बासिन्दा लाभान्वित हुने जनाएको छ । यसअघि सामुदायिक भवन नहुँदा भेला, बैठक, बस्न व्यक्तिका घरमा जानुपर्दथ्यो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -