स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

बाढीको उर्लंदो भेलमा ज्यानको बाजी थापेर उद्धारमा खटिँदै सुरक्षाकर्मी

उद्धारमा २७ हजार प्रहरी सक्रिय
सेयर गर्नुहोस

–नारायण ढुङ्गाना

अविरल वर्षाका कारण काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटिएका छन् । उद्धारमा तीनै तहका सुरक्षा निकाय ४० हजार बढी सक्रिय भएका छन् ।

दिनको भोक र रातको निद्रा नभनी बाढीको उर्लंदो भेलमा ज्यानको बाजी थापेर प्रभावित मानिसको ज्यान बचाउन सुरक्षाकर्मी क्रियाशील छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालीमप्राप्त सुरक्षाकर्मीदेखि विभिन्न गण, गुल्म र कार्यालयका अन्य सुरक्षाकर्मीसमेत उद्धारमा परिचालित छन् ।

उनीहरुले बाढीमा बग्दै गरेका मानिसदेखि घरभित्र, सडक, रुख तथा डुबानमा फसेका सर्वसाधारणका उद्धारलाई सुरक्षाकर्मीले तीव्रता दिएका छन् । कतिपय अवस्थामा बोकेर, डोरीको सहायतामा त कतिपय अवस्थामा डुङ्गाको सहारामा उद्धार गरिएको छ । नेपाली सेनाले हेलिकप्टरको प्रयोग गरेर पनि उद्धार कार्य जारी रहेको गृहमन्त्री रामबहादुर थापाले बताउनुभयो ।

अवरुद्ध भएका राजमार्ग खुलाउनेदेखि जनजीवन सामान्य बनाउन सुरक्षाकर्मी उद्धारसामग्रीसहित तल्लीन छन् । उनीहरुलाई स्थानीय समुदाय तथा सरकारी एवं गैरसरकारी सङ्घसंस्थालेसमेत सहयोग पु¥याइरहेका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबल समन्वयात्मक ढङ्गबाट उद्धार कार्यमा लागेको जनाइएको छ । प्रहरी कार्यालयमा आएको फोनका आधारमा समेत सुरक्षाकर्मी सम्बन्धित क्षेत्रमा खटाइएका छन् ।

यसरी खटिएको छ नेपाली सेना

बाढीबाट प्रभावित भएकाको उद्धारमा नेपाली सेनाका विभिन्न स्थानमा तैनाथ युनिटबाट २१ जिल्लाको ३२ स्थानमा आठ हजार जनशक्तिले उद्धार कार्यलाई जारी राखेको छ ।

बाढी र पहिरोबाट अति प्रभावित जिल्ला झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाडाँै, ललितपुर र काभ्रेपलाञ्चोकमा सेनाले मात्रै ३५८ जनाको उद्धार गरेको तथा मृत्यु भएका सात जनाको शव निकालेको तथा बेपत्ता भएका व्यक्तिको खोजी जारी राखेको नेपाली सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

यस्तै प्रहरीसँगको समन्वयमा समेत उद्धार कार्य भइरहेको उहाँले बताउनुभयो । सिराहाको कमला नदीमा निर्माणाधीन पुलमा फसेका नौ जना इञ्जिनीयरकोसमेत नेपाली सेनाको टोलीले आज उद्धार गरेको छ ।

डुवानमा परेकाको उद्वार

पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग, काठमाडौँ–हेटौँडा र भोजपुर जिल्लाको भोजपुर–खोटाङ–लेगुवालगायत अवरुद्ध सडकमा यातायात आवगमनलाई सहज बनाउने कार्यमा नेपाली सेना सक्रिय छ ।

विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित इटहरी, धनुषा र काठमाडौँमा हेलिकप्टर तयारी अवस्थामा रहेको र प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपत्कालीन उद्धार सामग्रीसहित थत सैनिक टोली तयारी अवस्थामा रहेको पाण्डेले जानकारी दिनुभयो ।

विपद्को उच्च जोखिम भएका स्थानमा डुङ्गालगायत अन्य उद्धारका सामग्रीसहित टोली तयारी अवस्थामा छ । चितवनस्थित २ नं विपद् व्यवस्थापन गणबाट रवरबोटलगायत आवश्यक उद्धार सामग्रीसहितको टोली रौतहटको चन्द्रनिगाहपुरमा उद्धारका लागि खटाइएको नेपाली सेनाले जनाएको छ ।

गृह मन्त्रालयबाट प्रभावित इलाकामा पठाउन तयार गरिएका राहत सामग्री नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको समेत नेपाली सेनाले जनाएको छ ।

उद्धारमा २७ हजार प्रहरी सक्रिय
सशस्त्र प्रहरी बल उद्धारमा सक्रिय

नेपाल प्रहरीले बाढी पहिरामा परी प्रभावित भएका र विचल्लीमा परेकाको उद्धार तथा क्षति न्यूनीकरणका लागि २७ हजार बढी प्रहरी कर्मचारी परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश नं १, २ र ३ मा १५ हजार तथा कर्णाली प्रदेश र उपत्यकामा १२ हजारभन्दा बढी प्रहरी कर्मचारी उद्धारमा खटाईएको छ । प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म विपदमा परेका ३४ जनाको मृत्यु भएको ८०० भन्दाबढीको उद्धार गरिएको र बेपत्ताको खोजी जारी रहेको जानकारी दिनुभयो ।

हरेक प्रहरी कार्यालयबाट आवश्यकताअनुसार प्रहरी परिचालनका लागि तयारी अवस्थामा राखिएको समेत उहाँले बताउनुभयो । विभिन्न स्थानका सडकको अवरोध हटाउने कार्यमा समेत प्रहरी सक्रिय भएर लागेको र कतिपय स्थानको सडक खुलाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल पनि उद्धारमा सक्रिय

सशस्त्र प्रहरी बल नेपाल पनि उद्धार कार्यमा सक्रिय भएर लागेको छ । तालीम प्राप्त जनशक्तिसहित बाढी र पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि १० हजारभन्दा बढी सशस्त्र प्रहरी खटाइएको छ ।

एकल प्रयासमा ८०० भन्दाबढीका उद्धार गरिएको, नेपाल प्रहरी र सेनासँगको संयुक्त प्रयासमा समेत उद्धार कार्यलाई तीव्रता दिइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले उद्धारका लागि भएका साधनस्रोतको उपयोग गर्दै क्षति न्यूनीकरणमा सशस्त्र प्रहरी सक्रिय भएर लागेको छ । फसेका, डुबान र बाढीमा परेका तथा बेपत्ता भएकाको खोजीलाई प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -