स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

विमानस्थल विस्तारको प्रक्रिया सेलायो

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., air, aeroplane
सेयर गर्नुहोस

तराईको लुक्ला भनेर चिनिने निकै जोखिमपूर्ण मानिएको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँग सेलाएको छ । अधिकारी आफैँ भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिनुभएको थियो ।

अधिकारीले प्रक्रिया अगाडि बढाइरहेको बेला फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी उहाँको निधनसँगै विमानस्थल विस्तार प्रक्रिया सेलाएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार मन्त्री अधिकारीले विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण स्थानीय तहमार्फत पठाउन निर्देशन दिनुभएको थियो ।

सोहीअनुरुप कार्यालयले भरतपुर महानगरपालिकालाई आवश्यक धावनमार्गका बारेमा खुलाएर पठाइएको थियो । सोही पत्रका आधारमा महानगरपालिकाले पर्यटन मन्त्रालयमा कार्यपालिकाको बैठकले निर्णय गराई पठाएको थियो । भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई अन्यत्र स्थान दिन सकिने जनाएको छ ।

महानगरपालिका प्रमुख रेणु दाहालले विमानस्थल विस्तारको प्रक्रियामा सोझै मन्त्री अधिकारीसँग छलफल गरी काम अघि बढाएको जनाउनुभएको थियो ।

भरतपुर विमानस्थलको अहिलेको धावनमार्ग एक हजार २०० मिटर लामो छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र बिजुलीका पोल÷तार भएकाले पूरै क्षेत्र जहाजले लिन पाउने अवस्था छैन । जसका कारण लुक्लामा झैँ छोटो ठाउँमा एक्कासि अवतरण गर्नुपर्ने बाध्यता छ । जसका कारण जहाजभरि यात्रु राख्नसमेत नसकिएको विमान कम्पनीले जनाउँदै आएका छन् ।

धावनमार्गसँग जोडिएको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेमा ६०० मिटर धावनमार्ग थप गर्न सकिने गौतमले बताउनुभयो । जसले गर्दा सुरक्षित तवरबाट ७२ सिटका जहाज अवतरण गर्न सकिने गौतमको भनाइ छ । महानगर प्रमुख दाहालले अब मन्त्री नियुक्त भएसँगै अघि बढेको प्रक्रियालाई गति दिने बताउनुभयो । भरतपुरबाट काठमाडौँ र पोखरा हवाई सेवा रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -