स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

अविरल वर्षाका कारण जनकपुर जलमग्न

सेयर गर्नुहोस

अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ । जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।

यद्यपि अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्याङ्क सङ्कलन काम भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । बस्तीहरू समेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन् ।

विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ । वर्षाले अधिकांश सरकारी कार्यालय पनि डुबानमा परेका छन् । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा निरन्तर रुपमा पानीको सतह बढ्दै गएपछि सर्वसाधारणलाई सचेत गराइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार धनुषा र सिरहा जिल्लाको सीमाका रुपमा रहेको कमला नदीमा अविरल वर्षाका कारण जलस्तर बढ्दै गएकाले कमला छेउछाउका सर्वसाधारणहरुलाई सचेत गराउँदै सतर्क रहन आग्रह गरिएको छ ।

निरन्तर वर्षाका कारण जलस्तर बढ्दै गएकाले हुन सक्ने सम्भावित घटनाको न्यूनीकरणका लागि कमला छेउछाउका ग्रामीण भेगमा सुरक्षाकर्मीलाई सचेत गराई तयारी अवस्थामा राखिएको धनुषाका प्रजिअ कनेलले जानकारी दिनुभयो ।

समग्र जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको छ तर जनकपुरको नालामा पानीको बहाव रोकिएकाले ठाउँठाउँमा पानी जमेको बताउँदै प्रजिअ कनेलले कर्मचारी र प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -