स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

सतर्कता अपनाउन स्थानीय प्रशासनद्वारा अपिल

सेयर गर्नुहोस

निरन्तरको वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ ।

नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको प्रजिअ मदन भुजेलले बताउनुभयो । बाँकेमा नदीय तटीय क्षेत्रका झण्डै २४ हजार बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गरेका छन् । बाँकेको नेपाल –भारत सीमा क्षेत्र नजीक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटीय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिम मोल्न बाध्य भएका हुन् ।

तटबन्ध र बाँधका कारण जिल्लाको होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका घरखेत डुबानमा पर्ने गरेको प्रजिअ भुजेलले बताउनुभयो । गत वर्ष बाढी र डुबानमा परी बाँकेमा आठ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।

यो वर्ष बाँकेमा बाढी र डुबानको जोखिम कम गर्न तथा तत्काल उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न लगाएको छ । बाढी र डुबानको विपद् आएको समयमा नागरिकको उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखेको छ । नदीमा जल प्रवाहको स्तर खतराको चिह्नभन्दा माथि आएमा सायरन बजाउने व्यवस्था पनि मिलाएको प्रजिअ भुजेले बताउनुभयो ।

आउँदो २४ घण्टासम्म पनि मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा रहिरहने मौसमविद्हरुको भनाइ छ । हाल देशभरको मौसम पूर्ण बदली रहेको र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । पश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

बस सेवा सञ्चालन गर्ने

नेपालगञ्ज उपमहानगरपालिकाले नगर बस ल्याएको छ । महिला चालक राखेर नगर बस चलाउने उपमहानगरपालिकाको योजना छ ।

प्रदेश सरकारले सहयोग गरेको रु सात करोडमध्ये रु पाँच करोड खर्च गरेर उपमहानगरपालिकाले सात वटा नगर बस चलाउने भएको हो । नेपालगञ्जदेखि खजुरा, कम्दी, गौघाट, बेतहनी, कोहलपुरलगायत ठाउँमा सञ्चालन गरिने नगर बसको चालक महिला हुने उपहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।

महिला चालक उत्पादन गर्न उपमहानगरपालिकाले ७१ जनालाई प्रशिक्षण दिएको छ । नगर बसमा सुरक्षाका लागि सिसी क्यामेरासमेत जडान गरिने प्रवक्ता रिजालले बताउनुभयो ।

बाँके साक्षर जिल्ला घोषणा हुन सकेन

बाँके अभैm साक्षर जिल्ला घोषणा हुन सकेको छैन । सबै स्थानीय तहको तथ्याङ्कका आधारमा मात्र बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न सकिन्छ । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले मात्र साक्षरता घोषणा गरिसकेका छन् भने नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ र गाउँपालिका तथ्याङ्क सङ्कलनमै अड्किएका छन् ।

“गत फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम थियो तर स्थानीय तहको ढिलाइका कारण समय पर धकेलिएको छ”, शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ । बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

जिल्ला र स्थानीय तहमा तदारुकताका साथ काम नहुँदा समय पर धकेलिएको हो । नेपालगञ्ज उपमहानगरपालिकामा तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको शिक्षा शाखाप्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले यहाँका सबै स्थानीय तहका प्रमुखसँग बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न आवश्यक समन्वयका लागि एक चरणको बैठक बसेर छलफल गरेको प्रमुख थापाले बताउनुभयो ।

सो कार्यालयले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आप्mनो क्षेत्रका प्रत्येक घरमा गएर तथ्याङ्क सङ्कलन गर्न र निरक्षरहरुका लागि विशेष कक्षा सञ्चालन गरेर उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई साक्षर घोषणा गर्न आग्रह गरेको छ । २०६८ को जनगणनाअनुसार बाँकेमा ६३ प्रतिशत मानिस साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिसहरु साक्षर हुनैपर्छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -