स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

वर्षासँगै मौरीको चरनमा समस्या

honey, bee
सेयर गर्नुहोस

वर्षा लागेसँगै मौरीपालक किसानका लागि चरनको समस्या भएको छ । विशेषगरी वर्षायाममा फूल फुल्ने वनस्पति खेती कम हुने भएकाले चरनको समस्या देखिएको हो । चरनको समस्या भएपछि मौरीका लागि चाहिने आहारा किनेर खुवाउनुपर्ने बाध्यता रहेको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार वर्षाका कारण असार÷साउन र जाडोका कारण मङ्सिर÷पुसमा कृत्रिम आहाराले मौरी बचाउनुपर्ने हुन्छ । अहिले अधिकांश कृषकले चिनीको झोल खुवाउने गर्दछन् । तिमिल्सिनाका अनुसार १० वर्षअघि र अहिले चिनीको मूल्य दोब्बर भए पनि महको मूल्य एउटै हुँदा कृषक मारमा छन् । कृषकका लागि यो मौसममा परागकरण खुवाउन सकिने हुन्छ । यद्यपि समयमा सङ्कलन नगरिदिँदा कृषक नोक्सानमा छन् । मौरी जोनले आगामी वर्ष कृषकलाई परागकरण सङ्कलन गर्न पोलेन ट्र्याप उपलब्ध गराई व्यावहारिक तालीम दिन लागेको तिमिल्सिनाले जानकारी दिनुभयो । यसबाट केही हदसम्म बेमौसममा मौरी बचाउन सहयोग पुग्नेछ ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेल मौरीपालक किसानको सङ्ख्यामा वृद्धि भए पनि चरनको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको बताउनुहुन्छ । मौरीको चरन क्षेत्रमा जग्गा खण्डीकरण र कृषि सडक बन्ने क्रममा कतिपय चरन क्षेत्र मासिएको पौडेलको भनाइ छ । यससँगै जलवायु परिवर्तनले समेत चरन क्षेत्रमा असर परेको उहाँले बताउनुभयो । सरकारले मौरी किसानका लागि व्यवस्थित चरन क्षेत्र नछुट्याएकाले पनि किसानले समस्या भोग्नुपरेको उहाँको गुनासो छ । उहाँका अनुसार बेमौसममा मात्रै एक घार बराबर १० किलो चिनी खर्च हुने गर्दछ ।

महासङ्घका संस्थापक अध्यक्ष प्रा डा खेमराज न्यौपानेले यो समयमा मौरी बचाउन कृत्रिम आहारा दिनुपर्ने बताउनुभयो । नेपालमा चिनीको चास्नी, मह र चिनीको पाउडर घोलेर बनाइएको क्याण्डी मौरीलाई खुवाउने गरिएको उहांँले जानकारी दिनुभयो । विदेशमा कर्नसिरफ पनि खुवाउने अभ्यास रहेको न्यौपानेको भनाइ छ । नेपालमा कम खर्चमा बेमौसममा मौरीलाई कसरी बचाउन सकिन्छ भनेर आफूले अनुसन्धान गर्दा पाकेको फर्सीलाई उसिनेर चिनीको सिरफ मिसाएर खुवाउन सकिने देखिएको उहाँले बताउनुभयो ।

वर्षायाममा फूल फुल्ने वनस्पतिको फूलको रस पखालिने र मौरी घारबाट बाहिर निस्कन नसक्ने हुनाले पनि चरनको साथै उत्पादनमा समेत घट्ने मौरीविज्ञ कमल वाग्ले बताउनुहुन्छ । उहाँले सरकारले विकसित देशको अभ्यास गर्दै चरन अभाव हटाउन वर्षायाममा फुल्ने वनस्पति एवं आहाराको लागि विकल्प खोज्नु अपरिहार्य रहेको बताउनुभयो ।

गत वर्ष चितवनमा ८०० मेट्रिकटन मह उत्पादन भएको थियो भने देशभर तीन हजार ५०० मेट्रिकटन मह उत्पादन भएको थियो । मौरीपालक व्यवसायी किसानको सङ्ख्या चितवनमा ४५० भन्दाबढी छन् भने देशभर छ हजार मौरीपालक किसान रहेको तथ्याङ्क छ । देशभरमा मेलिफेरा जातको मौरीका ६५ हजार र सेरेनाको एक लाख ४० हजार घार रहेका छन् । नेपालमा विशेषगरी मेलिफेरा, सेराना जातको मौरीबाट मह उत्पादन हँुदै आएको छ । कृषकले अन्य मौसममा पनि स्थानान्तरण गरेर मौरी चराउने गर्दछन् । विषादीका कारण वर्षेनी मौरी मरेर किसानले नोक्सान व्यहोर्दै आएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -