स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सिङ्गमर्मरको मल्टीकलरजस्तै विविधतायुक्त छ नेपाली समाज’– उपप्रधानमन्त्री पोखरेल

सेयर गर्नुहोस

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।

मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा सशक्तीकरणसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्छ । ”

उपप्रधानमन्त्री पोखरेलले देशको राष्ट्रियता, स्वाधिनता, स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्न जरुरी छ भन्दै तराई, पहाड र हिमालको भाग्य एकै ठाउँमा गाँसिएको छ, इतिहासको एउटा कालखण्डमा तराई मधेशका जनताको योगदानलाई नजानिँदो किसिमबाट ओझेलमा पारिएको छ, हामीले अग्रगामी विषयको रक्षा गर्नुपर्छ, पश्चगामी विषयलाई निरन्तरता दिन हँुदैन बताउनुभयो ।

“तराई मधेशका जनताको असल चाल चलन, इमान्दारी र प्रचुर मात्रमा रहेको देशभक्ति भावनाको वर्णन गरेरै सकिन्न”, उहाँले भन्नुभयो, “विगतमा भएको नजानिँदो भेदभावपूर्ण व्यवहारले अन्यायमा परेको मनोविज्ञानलाई तोड्दै मुलुकको विकास र समृद्धिका लागि एकाकार भएर अघि बढ्न आवश्यक रहेको छ ।”

उपप्रधानमन्त्री पोखरेलले हाम्रो नेपाली समाज सिङ्गमर्मरको मल्टीकलरजस्तै विविधतायुक्त छ, कुनै जाति सङ्ख्यामा अलि धेरै होला, कुनै सङ्ख्यामा कमी होला तर बहुजातीय, बहुभाषा, बहुधार्मिक र बहुसांस्कृतिक भएको नेपाल साँच्चिकै सिङ्गमर्मरजस्तै मल्टीकलर देश हो भन्नुभयो ।

नेपाली समाजलाई सुन्दरवस्तुको रुपमा कसरी कायम राख्ने हो भन्ने अहिलेको गहनतम प्रश्न हो भन्दै उहाँले अग्रगमनतर्फ अघि बढने क्रममा आउने समस्याको ठीक ढङ्गले चित्रण गरेर सामाजिक जागरणको माध्यमबाट सम्बोधनको प्रयास गर्नुपर्छ बताउनुभयो ।

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले छिमेकी मुलुकको तुलनामा नेपालको संविधानले समानुपातिक र समावेशीको सिद्धान्तलाई उत्कृष्ट ढङ्गबाट आत्मसात् गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अपनाएको उत्कृष्ट शासन प्रणाली र राज्य व्यवस्थालाई ठीक ढङ्गबाट हिँडाउन र त्यसलाई पृष्ठपोषण गर्ने किसिमले ऐन, नियम र कानून बनाएर अघि बढ्नुपर्छ ।”

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मधेशी र थारू समुदायका मुद्दा एकै खालका भएकाले तराई मधेशमा उठेको मुद्दालाई सम्बोधन गर्न दुवै आयोग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मधेशी आयोगका अध्यक्ष विजय दत्तले मधेशी समुदायको समग्र स्थितिको अध्ययन गरी समस्याको पहिचान भइसकेको हुँदा समाधानको उपाय के हुन सक्छ भनी सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

तराई मधेश मुलुकको अन्नको भण्डार मात्र होइन, कला, साहित्य, धर्म र संस्कृतिको अनुपम क्षेत्र भएको हुँदा यस क्षेत्रको विकासका लागि नीतिगत, कानूनी र संस्थागत विकास एवं सुधारका लागि आयोगले सरकारलाई सिफारिश गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -