स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्छः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल
सेयर गर्नुहोस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्ने बताउनुभएको छ ।

शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरणः समाजवादी शिक्षा, अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यशाला गोष्ठीमा उहाँले उत्पादनमुखी शिक्षा नै आजको आवश्यकता भएकाले अबको शिक्षा समाजवादी हुने बताउनुभयो ।

मन्त्री पोखरेलले गरीब र धनीको पढ्ने शिक्षा नै सार्वजनिक शिक्षा भएकाले सिपसहितको समाजवादी शिक्षामा रुपान्तरण गरेर मुलुकको शिक्षा सुधार्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाएर २०७६ देखि २०८५ साललाई शिक्षा सबलीकरणको दशकका रुपमा लिनुपर्ने बताउनुभयो ।

सार्वजनिक शिक्षा सुधार गरे मात्र मुलुकको समृद्धि हुने बताउँदै उहाँले अरु देशको नक्कल गरेर होइन्, आफ्नै देश सुहाउँदो शिक्षा प्रणाली लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको स्वामित्व स्थानीय तहले लिएकाले अब शिक्षामा विभेद अन्त्य भएको उल्लेख गर्दै शिक्षा नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र वर्षे अधिवेशनसम्म शिक्षासम्बन्धी सबै विधेयक ल्याइने जानकारी दिनुभयो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ‘नेपालमा समाजवादी शिक्षाको अवधारणा, आधार र भविष्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अहिलेको शिक्षा विचौलिया शिक्षा भएकाले यसमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा गङ्गालाल तुलाधार र सांसद बद्री पाण्डेले उत्पादनमुखी, सिर्जनशील र उद्यमशीलता शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेले अहिलेको शिक्षाले मुलुकको विकासमा कुनै पनि योगदान गर्ने नभएकाले शिक्षा नीति स्पष्ट बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपानेले संविधानमा समाजवादोन्मुख भने तापनि कस्तो किसिमको समाजवाद र शिक्षामा कस्तो खालको समाजवादी ल्याउने भन्नेमा राजनीतिक दलबीचनै अस्पष्ट रहेको बताउनुभयो ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला र मनप्रसाद वाग्लेले समाजवादको बहस गरे पनि अझै समान्तवादको चरित्र देखाइरहेकाले समाजवादी शिक्षा ल्याउन अझै समय लाग्ने बताउँदै स्थानीय तहमा सिपलाई उपयोग गर्ने खालको शिक्षा लागू गर्नुपर्ने र त्यही सिपबाट सिकेको शिक्षाले स्थानीय तहमा उत्पादन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -