मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो



गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशलाई विनियोजन गरेको रु २५ लाखमध्येबाट रु १० लाखमा ३१ हजार बिरुवा लगाइएको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशका कृषि प्राविधिक निर्मला शर्माले जानकारी दिनुभयो ।

यो पनि छुटाउनु भयो कि ?


नमूना कृषि गाउँ रेशको बौर–तिङ्रिङको ५० रोपनी क्षेत्रफलमा १५ हजार चिया, १० हजार अलैँची, तीन हजार सुन्तला, दुई हजार किम्बु र एक हजार टिमुरका बिरुवा रोपिएको शर्माले बताउनुभयो । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको भिरालो जमीनमा चिया तथा अलैँची खेतीको राम्रो सम्भावना देखेपछि चिया तथा अलैँचीखेती गरिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

कृषिउपजमा आत्मनिर्भर गराउने उद्देश्य राखेको गाउँपालिकाले तल्लो भागमा सुन्तला तथा उपल्लो भेगमा चिया तथा अलैँचीखेतीको विस्तार गरिरहेको काठेखोला गाउँपालिकाले जनाएको छ । नमूना कृषि गाउँका लागि रेशमा १० वटा कृषि कार्यक्रममा लगानी गरिरहेको गण्डकी प्रदेशले जनाएको छ । रेशमा खोर, भकारो तथा मलखात सुधार र तालीम कार्यक्रम, डाँले घाँस तथा उन्नत जातको घाँसको विस्तार कार्यक्रम, घाँसको बिरुवा खरीद तथा रोपण कार्यक्रम, चिया, अलैँची तथा सुन्तलाका बिरुवा खरीद तथा रोपण कार्यक्रम, उन्नत जातको बीउ बोका सामूहिकपालन कार्यक्रम, एकीकृत घर बगैँचा व्यवस्थापन तथा करेसाबारी निर्माण कार्यक्रम, पानीको स्रोत, पोखरी तथा खोला संरक्षण कार्यक्रम, महिलामैत्री औजार खरीद, गड्यौलाको मल उत्पादन कार्यक्रम, होर्डिङ बोर्ड तथा प्रोफाइल व्यवस्थापन कार्यक्रम गरिरहेको कृषि प्राविधिक शर्माले बताउनुभयो ।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँलाई रेशको साना किसान सहकारी संस्थाले समेत समन्वय गर्दै आएको सहकरीका अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

बागलुङ जिल्लामा चार वटा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको कार्यक्रम सञ्चालित रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । रेश गाउँबाहेक जैमिनी नगरपालिकाको सर्कुवा, ताराखोलाको करिमेला तथा निसीखोलाको मसल गाउँ नमूना कृषि गाउँ छनोट गरिएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस