स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

क्रिकेट–नेपालद्वारा सिङ्गापुर पराजित

criket sports - TON
सेयर गर्नुहोस

एसिसी यु–१९ पूर्वी क्षेत्र (इस्टर्न रिजन) क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ ।

मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गर्दै समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो ।

पराजित सिङ्गापुर पनि समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर र चीन छन् । यसअघि भएको पहिलो खेलमा नेपालले चीनलाई र सिङ्गापुरले पनि चीनलाई नै पराजित गरेको थियो । दुई खेल खेलेको चीन दुवै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनाएको थियो । नेपालका लागि रित गौतमले सर्वाधिक ११५ रनको योगदान दिए । एकसय ३७ बल खेलेका उनले एक छक्का र १० चौका प्रहार गर्दै अविजित ११५ रन जोडेका हुन् । त्यसैगरी खडक बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोडे ।

बलिङतर्फ सिङ्गापुरका प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान दुई÷दुई विकेट लिए । तीनसय २७ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको सिङ्गापुर ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै जम्मा १०९ रनमा समेटियो ।

सिङ्गापुरका लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिए । यस्तै कन्नुस्वामी सतिशले २४ रन तथा चन्द्रमाउली श्रीदेवले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

सिङ्गापुरलाई सस्तैमा समेट्नेक्रममा नेपालका कुशल मल्ल एक्लैले चार विकेट लिए भने तिलक राजभण्डारीले दुई तथा रशिद खान र सागर ढकालले समान एक÷एक विकेट झारे । उक्त प्रतियोगिताको विजेता टोली आगामी अगस्ट÷सेप्टेम्बरमा श्रीलङ्कामा आयोजना हुने भनिएको यु–१९ एशिया कपका लागि छनोट हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -