स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

झोलुङ्गे पुल निर्माणले आवतजावत सहज

सेयर गर्नुहोस

ज्याग्दीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत सहज बनेको छ । नेपालकै अग्लो र लम्बाइका हिसाबले यो पुल तेस्रो स्थानमा पर्छ ।

चापाकोट नगरपालिका–५ हिरामलाङ र ८ दामाचौर जोड्ने ज्याग्दीखोलामा हालसालै निर्माणकार्य सम्पन्न भई पुल सञ्चालनमा आएको छ । पुल बनेपछि आवतजावत, मेलापात, घाँस दाउरा गर्न, विद्यालय जान सजिलो भएको स्थानीयवासी जीवलाल पाठक बताउनुहुन्छ । तल खोलामा एउटा पक्की र झोलुङ्गे पुल रहेपनि एकान्त अनि कालीगण्डकीको दोभान नजिकै जङ्गल बीचमा हँुदा साँझ बिहान त्रासमा यात्रा गर्नुपर्ने बाध्यता थियो ।

केन्द्रीय आयोजना डोलीडार कम्पनीमार्फत जय नेपाल निर्माण सेवाले ठेक्का लिई पुल निर्माण गरेको हो । पुल निर्माण भएपछि दामाचौर र हिलामराङ क्षेत्रका स्थानीयवासी खुशी छन् ।

खोलाको सतहदेखि ११९ मिटर उचाइमा बनेका सो पुलको लम्बाइ ३१८ मिटर छ । पुलबाट दैनिक एक हजार पाँच सय यात्रु आवतजावत गर्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन डोटेल बताउनुहुन्छ ।

चापाकोट नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गरी समृद्ध नगर बनाउन, स्थानीय तथा विद्यालय जाने विद्यार्थी, विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी, यात्रुलाई मध्यनजर राखेर पुल निर्माण गरिएको उहाँ बताउनुहुन्छ ।

“पुलका केही भागमा काम सकिएको छैन, आवतजावत चालु भए पनि अन्य काम भइरहेको छ” उहाँले भन्नुभयो । बञ्जि जम्पको अवधारणासहित अग्लो स्थानमा पुलनिर्माण गरिएको हो । अबको एक वर्षपछि यहाँ बञ्जिजम्प सञ्चालन गर्ने पुल निर्माण उपभोक्ता समिति, चापाकोट नगरपालिका र स्थानीयवासीको योजना छ ।

रु दुई करोड ९६ लाखको बोलपत्र आह्वान भएकोमा केही काम अझै बाँकी रहेकोले अनुमानित साढे चार करोड रकममा काम सम्पन्न हुने बताइएको छ । यो पुलबाट खोला वारिपारिका दर्जन गाउँलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।

खोला वारपार गरेर माथि गाउँमा निस्कन करीब आधा घण्टा समय खर्चनुपथ्यो । अहिले पुल बनेपछि पाँच मिनेटमै वल्लो गाउँबाट पल्लो गाउँमा पुगिएको स्थानीय रामचन्द्र भट्टराईले बताउनुभयो ।

“यहाँ पुल बनेपछि वारपार गर्न दुरी छोटिएको छ, खोला वारिपारी रहेका छिमेकी गाउँको सम्बन्ध घनिष्टता हँुदै गएको छ” उहाँले भन्नुभयो । नेपालकै तेस्रो अग्लो र लम्बाइ भएको झोलुङ्गे पुल गण्डकी प्रदेशको पहिलो लामो पुल पनि हो । नमूनाका रुपमा निर्माण भएको पुल हेर्नेको अहिले घुइँचो छ । विभिन्न स्थानबाट यो पुल अवलोकन गर्न आउनेक्रम बढेको छ । यहाँ बञ्जिजम्प सञ्चालनमा आएपछि आन्तरिक पर्यटक मात्र नभइ बाह्य पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्नेछ ।

कालीगण्डकीमा जलयात्रा, यस पुलमा बन्जिजम्प, रामपुरको बाहुनडाँडामा प्याराग्लाईडिङ्ग सञ्चालन गरेर प्रशस्त आम्दानी गर्न सकिने सम्भावना छ । यसलाई व्यावसायिक तवरले सञ्चालन गर्न सकियो भने कालीगण्डकी उपत्यकाको आर्थिक तथा पर्यटन विकासमा ठुलो टेवा पुग्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -