स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

म्याद सकिएर थपेको समय पनि सकिँदैछ तर सडकको अवस्थामा परिवर्तन छैन

सडक कालोपत्र - The Times Of Nepal
सेयर गर्नुहोस

–पूर्णप्रसाद मिश्र

सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दासमेत काम शुरु नहुँदा जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव परेको छ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन । सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्रको अवस्था दयनीय छ । सडकको विभिन्न स्थानमा ताल र पोखरी छन् । करीब सात किलोमिटरको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो ।

विसं २०७२ मा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो । थप गरिएको समय सकिन एक महीनामात्र बाँकी हुँदा काम भने शुरु हुन सकेको छैन । सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले पाउनुसम्म दुःख पाउँछन् । सङ्घीय संरचनाअनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक किनाराका स्थानीय बासिन्दा कुमार श्रेष्ठको गुनासो छ ।

सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । दुई खण्डमा गरी करीब रु ५५ करोडको ठेक्का गरियो । मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुन सकेन । विसं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घर जग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो ।
फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ । यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना स्थानीयवासीको समस्या, सर्वोच्चको फैसलालाई ध्यान दिएर केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर कायम गर्ने प्रस्ताव गरिएको बताउनुहुन्छ ।

यो प्रस्तावमा प्रदेश र सङ्घीय संसद्मा निर्वाचित जनप्रतिनिधिको सहमति नजुट्दा समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । करीब सात किमिको यो दूरीमा नौ सय घर छन् । स्थानीयवासीको सहमतिअनुसार सात÷सात मिटर बढाउँदा कसैलाई चित्त नबुझे सर्वोच्च अदालतको फैसलाबमोजिम मुआब्जा तिरेर बढाउन सकिने जोरपाटी–सुन्दरीजल सडक विस्तार सरोकार समितिका संयोजक सरोजकुमार श्रेष्ठ बताउनुहुन्छ ।

“चाबहिल–बोद्ध–जोरपाटी–थली–साँखुको जस्तो मापदण्ड जोरपाटी–सुन्दरीजलको तोकिएको छैन, ठेक्का गर्दा नै बिना आधार केन्द्रबिन्दुबाट ११÷११ मिटर विस्तार गर्ने भनी सूचना जारी गर्दा अहिले समस्या आएको हो”, उहाँले भन्नुभयो ।

अन्य सडकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले विसं २०३३ र २०४५ मा तयार पारेको मापदण्ड छ । जुन मापदण्ड तत्कालीन नगर विकासले तयार पारेको थियो । जोरपाटी–सुन्दरीजल सडकको मापदण्ड छ भनी लेखेको कागजात देखाए पनि अन्य सडकको जस्तो प्रमाणित दस्तावेज हालसम्म नभेटिएको विस्तार सरोकार समितिले जनाएको छ ।

यो खण्डको सडकको दूरावस्थाले दैनिकजसो सार्वजनिक यातायात दुर्घटनामा पर्ने गरेको विस्तार सरोकार समिति सचिव सुशील सिम्खडाले सुनाउनुभयो । मुआब्जा तिरेर केन्द्रबिन्दुबाट ११÷११ मिटर सडक बढाउन तयार नभए सहमतिमा सात मिटर वा त्यसमा समेत सहमति नभए अहिलेकै अवस्थामा कालोपत्र गरी सडकलाई ताल एवं पोखरीबाट मुक्त गरिनुपर्ने उहाँले बताउनुभयो ।

एक साताअघि जीर्ण सडकमा पुरानो सवारी गुडाएका कारण बा २ ख ८७४४ नं को सार्वजनिक यातायात दुर्घटना हुँदा परिचालकको घटनास्थलमै निधन भएको थियो । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका थिए । तीमध्ये आधा दर्जन गम्भीर घाइत भई अझै उपचाररत छन् ।

यो मार्गमा दैनिक सामान्य दुर्घटना भएर घाइते हुने यात्रु दिनमै दर्जन नाघ्ने गरेको छ । चाबहिल–बौद्ध–जोरपाटी–थली–साँखु सडक विस्तारसमेत पूरा नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । यो मार्गको बीचबीचमा १००÷२०० मिटर कालोपत्र गरिए पनि अधिकांश भाग हिलाम्य छ ।

ठाउँ ठाउँमा बनेका खाँडलमा वर्षात्मा परेको पानी जमेर सवारी हिँड्दा छप्ल्याङ छप्ल्याङ गरी सडक किनारमा हिँडेका यात्रुको जीउभरि हिलो छ्यापिने गर्छ । घाम लागेका बेला भने धुलोले सडक नदेखिने समस्या रहेको थलीकी राधिका सिम्खडाले बताउनुभयो । जीर्ण यो सडक छिटो कालोपत्र हुनुपर्ने माग गरी दुई साताअघि बन्द गरेर विरोध जनाए पनि समस्या समाधान नभएको उहाँको दुःखेसो छ ।

जति तहका सरकार भए पनि जनसरोकारका विषयमा काम हुन नसकेको उहाँले बताउनुभयो । राजधानीका विभिन्न स्थानका सडक लामो समयदेखि बन्न नसकेपछि स्थानीयवासी जनप्रतिनिधिसँग रुष्ट छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -