स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

समयमै पुल नबन्दा र उचित डाइभर्सन नहुँदा यात्रुह त्रसित

सेयर गर्नुहोस

– दीपक बोहरा
लमही, १३ असार दाङको लमही–तुलसीपुर सडक खण्डबीचमा पर्ने नदी तथा खोलाहरुमा ६ वटा पुल निर्माणको काम पूरा हुन सकेको छैन । निर्माण शुरु भएको ६ वर्ष पुग्नै लाग्दा पनि पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पुल निर्माण अधुरै हुँदा यात्रुहरुलाई बर्खामा आवत–जावत गर्न निकै समस्या हुने गर्छ ।

समयमै पुल नबन्दा र उचित डाइभर्सन नहुँदा यात्रुहरु त्रसित बनेका छन् । विगतका वर्षहरुमा पुल निर्माणले पूर्णता नपाउँदा बर्खामा आएको बाढीले गाडी नै बगाएको तथा मान्छेको समेत मृत्यु हुने गरेको थियो । यस वर्ष पनि पुल निर्माण अधुरै हुँदा आफूहरु त्रासमा रहेको मोटरसाइकल चालक नारायण डिसीले बताउनुभयो । “विगतका वर्षहरुमा पनि समयमै पुल निर्माण नहुँदा बाढीको सास्ती खेप्नु परेको थियो, यस वर्ष पनि पुल निर्माण भएका छैनन्,” उहाँले भन्नुभयो – विगत जस्तै सास्ती खेप्नु पर्ने अवस्था हुन्छ होला ।” तर यस वर्ष विगतका वर्षहरु जस्तो सास्ती नहुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

यस वर्ष बर्खा शुरु हुनुभन्दा पहिले चारवटा पुल निर्माणको कार्यले पूर्णता पाउने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी लिलाबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार बबई, कटुवा, गुर्जे र सक्राम खोलाको काम सकिने छ । अन्य दुईवटा पुलको काम भने यो वर्षको बर्खासम्म पनि नसकिने उहाँको भनाइ छ ।

विसं २०७१ भदौ ११ गते सम्झौता भएको कटुवा खोलाको पुल निर्माणको काम ८० प्रतिशत पूरा भएको छ । शंकरमाली निर्माण कम्पनीले उक्त पुल ४ करोड १० लाख रूपैयाँमा ठेक्का लिएको थियो । समयमै पुल निर्माणको काम पूरा नभएपछि दुई पटक १÷१ वर्ष म्याद थप गरियो । अन्तिम पटक थप गरिएको समय २०७४ असोज १० गते सकियो । अन्तिम पटक तोकिएको समयमा पनि काम पूरा नभएपछि अहिले १० प्रतिशत जरिवाना तिराइएको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार बाँँकी काम अबको असार महिनाभित्रमा पूरा गर्ने गरी काम अगाडि बढाइएको छ । अब दुबैतिर माटो पुर्ने र ग्रावेलको काम मात्रै बाँकी छ । उक्त पुल ४० मिटर लामो र ११ मिटर चौडा छ ।

दाङको लमही–तुलसीपुरअन्तर्गत पर्ने गुर्जेखोलाको पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । पुलको ढलानका सबै काम सकिएको र अबको एक महिनामै पुलबाट गाडी चल्ने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२ माघ ५ गते रौताह कन्स्ट्रक्शनले ठेक्का पाएको थियो । विसं २०७५ वैशाख १६ गते सक्ने गरी सम्झौता भए पनि समयमै काम पूरा भएन ।

यो पुल १०५ मिटर लामो र ११ मिटर चौडा छ । दाङमा बन्ने फरक स्वरुपको उक्त पुल निर्माणका लागि चाहिने सामानहरु भारतबाट मात्रै ल्याउनु पर्ने उहाँको भनाइ छ । भारतबाट सामान आउनै ढिला भएकाले पनि समयमै काम पूरा हुन नसकेको बताइएको छ ।

दाङको सिस्ने खोलामा निर्माण भइरहेको पुलको काम तीव्र गतिमा अघि बढेको छ । आव २०७६÷७७ को असोजमा काम सक्ने गरी आर्थिक वर्ष २०७४÷७५ मा एडभेन्चर जय बागेश्वरी कम्पनीले ६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । पुलको काम तदारुकताका साथ चलिरहेकाले सम्झौता मुताबिक समयमै काम सम्पन्न हुने सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अब जग र स्लाबको काम बाँकी रहेको छ । यो पुलको लम्बाइ ६० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

कुल ११ करोड रूपैयाँ लागतमा बनाउन शुरु गरिएको बबई नदीमाथिको पुलको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको सूचना अधिकारी भण्डारीले बताउनुभयो । दोस्रो पटक म्याद थपिएपछि निर्माण यही वर्षको असारभित्र पूरा हुने गरी काम अघि बढिरहेको छ ।

पत्रेखोलाको पुल निर्माणको कार्य भने अलपत्र छ । विसं २०७५ भदौ ९ गते काम पूरा गर्ने सहमति भएको भए पनि अहिलेसम्म निर्माणको काम अघि बढेको छैन । पाँच करोडको लागतमा निर्माण हुने भनिएको उक्त पुल डिजाइन नै नमिलेकाले विगत दुई वर्षदेखि काम ठप्प छ । नयाँ डिजाइन अझैसम्म पनि आउन सकेको छैन ।

तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत ग्वारखोलामा निर्माण भइरहेको पुलको काम एक वर्षमा ५० प्रतिशत पूरा भएको छ ।

कालिका रसुवा जेवी निर्माण कम्पनीले आर्थिक २०७६ ÷७७ मा काम सक्ने गरी पुलको जिम्मा लिएको थियो । इञ्जिनीयर वसन्त ज्ञवालीका अनुसार हालसम्म पुलको स्ट्रक्चरको काम ५० प्रतिशत र सुपरस्ट्रक्चरको काम ४० प्रतिशत पूरा भएको छ । पुल २२० मिटर लामो र १०.५ मिटर चौडा छ । आगामी कात्तिक महीनासम्म निर्माण सम्मन्न गर्ने लक्ष्य राखिएको छ । ग्वारखोलाबाट करीब दुई किलोमिटर तल अर्को पुल बनाउने ठेक्का पनि यही कम्पनीले लिएको हो । यो पुल २०० मिटर लामो र १०.छ मिटर चौडा छ । कम्पनीले ४७ करोडमा दुबै पुल बनाउने ठेक्का पाएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -